अनलाइन सञ्चारमाध्यम र सञ्जाल प्रयोगकर्तालाई साइबर क्राइममा कारबाही गर्ने सञ्चार मन्त्रालयको चेतावनी

अनलाइन सञ्चारमाध्यम र सञ्जाल प्रयोगकर्तालाई साइबर क्राइममा कारबाही गर्ने सञ्चार मन्त्रालयको चेतावनी

काठमाडौं सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको अनलाइन र सामाजिक सञ्जालमा प्रकाशित हुने समाचारको विषयमा साइबर क्राइम लगाउने चेतावनी दिएको छ। बुधवार मन्त्रालयले जारी गरेको विज्ञप्तिमा छापा माध्यम, रेडियो र टेलिभिजनबारे केही उल्लेख गरेको छैन।

पछिल्लो समय सरकारमा रहेका मन्त्री लगायतको बदनियतबारे अनलाइन सञ्चारमाध्यमहरूमा प्रमाणसहित समाचार प्रकाशित भइरहेका छन्। अनलाइन सञ्चार माध्यमबाट सार्वजनिक भएको प्रमाणकै आधारमा बुधवार प्रधानमन्त्री बालेन्द्र शाहले राजीनामा माग्दा सुधन गुरुङले गृहमन्त्री पदबाट राजीनामा दिए।

यस अगाडि श्रममन्त्री दीपक साहको पृष्ठभूमि र उनको श्रीमती बीमा बोर्डको बैठक अनधिकृत रूपमा सहभागी भएकोबारे अनलाइन सञ्चारमाध्यमले प्रकाशन गरेको प्रमाणसहितको समाचारको आधारमा मन्त्री साहले पनि राजीनामा दिन बाध्य भएका थिए।

कहिले, कहाँ अनि कुन सञ्चार माध्यमले भ्रामक सामग्री प्रकाशन गर्यो भन्ने केही उल्लेख नगरी सबैलाई एकै डालोमा राख्दै मन्त्रालयले केही समयदेखि विभिन्न अनलाइन मिडिया तथा सामाजिक सञ्जालहरूमा आधारहीनमिथ्या र भ्रामक सूचना सामग्रीहरू प्रकाशन तथा प्रसारण भइरहेको दाबी गरेको छ।

यसबारे मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको भन्दै विज्ञप्तिमा यस्ता कपोलकल्पित सूचना सामग्रीहरूले आम नागरिकमा भ्रम सिर्जना गर्नुका साथै समाजमा गलत मनोविज्ञान फैलाउने कार्य गरिरहेको दाबी गरेको छ।

सरकारले यस प्रकारका भ्रामक सूचना सामग्री सम्प्रेषण गर्ने कार्यलाई अत्यन्त गम्भीरतापूर्वक लिएको छ। मन्त्रालय सबै समाचार प्रदायकसंस्था तथा व्यक्तिलाई आधिकारिक निकायबाट पुष्टि नभएका र हचुवाका भरमा कुनै पनि समाचार तथा सूचना प्रकाशन तथा प्रसारण नगर्न नगराउन अनुरोध गर्दछ” विज्ञप्तिमा भनिएको छ।

विज्ञप्तिमा मन्त्रालयले यदि आधारहीनमिथ्या र भ्रामक समाचारहरू प्रकाशन तथा प्रसारण गरिएको पाइएमा त्यस्ता समाचार वा सूचना प्रकाशन गर्ने व्यक्ति वा संस्थाहरूलाई पहिचान गरी प्रचलित कानून (विद्युतीय कारोबार ऐन तथा अन्य सम्बद्ध कानून) बमोजिम कडा कारबाही गरिने चेतावनी दिएको छ।

वैशाख ९, २०८३ बुधबार २१:१२:२१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।