दीपक र सुलभको हिरासत अवधि ७ दिन थपियो, शेखरसहितका व्यवसायी भने स्वतन्त्रै
काठमाडौं : सम्पत्ति शुद्धीकरण अनुसन्धानका लागि प्रहरी हिरासतमा रहेका विवादास्पद व्यवसायी दीपक भट्ट र शंकर ग्रुपका सञ्चालक समेत रहेका सुलभ अग्रवालको न्यायिक हिरासतको अवधि ७ दिन थप भएको छ। बुधवार यी दुबैलाई थप हिरासतमा राख्न माग गर्दै काठमाडौं जिल्ला अदालतमा पेस गरिएको थियो। न्यायाधीश तिलकबहादुर कार्कीको इजलासले उनीहरू दुबैलाई सात दिन हिरासतमा राख्ने अनुमति दियो।
उनीहरूको अनुसन्धान अन्तिम चरणमा पुगे पनि सम्पत्ति शुद्धीकरणको कसुरमा जोडिएको बीमा ऐन र धितोपत्र ऐन अन्तर्गतको सम्बद्ध कसुरको अनुसन्धान जारी रहेको भन्दै सम्पत्ति शुद्धीकरण विभागले दुवैको हिरासतको म्याद थप्न माग गरेका थिए।
शंकर समूहको एक कम्पनीबाट भट्टको खाता हुँदै हिमालयन रीइन्स्योरेन्समा गएको रकमको खोजीको क्रममा भट्ट र सुलभसहित प्रभावशाली व्यापारिक समूहले बैंकिङ कसुर, धितोपत्र कारोबार सम्बन्धी कसुर र बीमा सम्बन्धी कसुर गरेको प्रमाणहरू फेला पर्न थालेपछि दुबैलाई हिरासतमा राखेर अनुसन्धान सुरु भएको थियो।
यो प्रकरणमा यी दुवै बाहेक शेखर गोल्छासहितको व्यापारीहरू समेत शेयरको इन्साइडर ट्रेडिङमा संलग्न देखिए पनि उनीहरू भने पक्राउ परेका छैनन्। यीनै भट्ट र अग्रवालसँगको समूहको कम्पनीमा ५० लाखको संस्थापक लगानी रहेको सार्वजनिक भएपछि सुधन गुरुङले गृहमन्त्री पदबाटै राजीनामा दिनु परेको छ।
वैशाख ९, २०८३ बुधबार १८:२३:२९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।