छोटो समयमा बाहिरिएका सरकारको दृश्यहरुले हाम्रो आशंका सही प्रमाणित हुँदैछ : शंकर पोखरेल
काठमाडौं : एमालेका महासचिव शंकर पोखरेलले वर्तमान सत्ता समीकरण र हालैका राजनीतिक घटनाक्रमहरूले पार्टीले व्यक्त गर्दै आएको आशंका सही प्रमाणित हुँदै आएको दाबी गरेका छन्।
नेकपा स्थापना दिवसको अवसरमा बुधबार च्यासलस्थित पार्टी मुख्यालयमा आयोजित कार्यक्रममा बोल्दै महासचिव पोखरेलले एमालेमाथि सुशासन कायम गर्न नसकेको आरोप लागेको भन्दै एमालेका नेता तथा कार्यकर्ता र हाल सरकारमा रहेका नेताहरूको सम्पत्तिको पनि छानबिन गर्नुपर्ने बताए।
उनले भने, ‘छोटो समयमा नै दृश्यहरु जसरी नै बाहिर आउँदैछन् हामीले गरेका आशंकाहरु सही प्रमाणित हुँदैछन्। सुशासन कायम गर्न नसकेको आरोप लगाइयो, लामो समयसम्म सत्तामा रहेका हाम्रा नेताहरुका सम्पत्तिहरु जाँचबुझ गरौं। अहिले सरकारमा रहेका नेताका सम्पत्तिहरु जो सार्वजनिक भएका छन् तिनीहरुको जाँचबुझ गरौं त।'
कार्यक्रममा बोल्दै उनले तथ्यले एमालेका नेता–कार्यकर्ता इमान्दार रहेको देखाउने दाबी गर्दै पार्टीमाथि विभिन्न आरोप लगाएर जनतामाझ बदनाम गर्ने प्रयास भइरहेको आरोप लगाए। साथै, गलत सूचना र प्रविधिको दुरुपयोग मार्फत जनमत प्रभावित पारिएको कारण एमाले जनताबाट टाढिएको उनले भनाइ राखे।
उनले भने, 'सुशासनका मामिलामा नेकपा एमालेका नेता कार्यकर्ता जतिको इमान भएका नेता कार्यकर्ताहरु अरु कसैको छैन भन्ने कुरा तथ्यले बताउँछ। तर पनि आज जनताका सामू हामीलाई अनेक प्रकारले लाञ्छित गर्ने काम भैइरहेको छ।'
उनले निर्वाचनमा सफलता हासिल गर्ने पक्षलाई बधाई दिँदै जनादेशको सम्मान गरेको समेत उल्लेख गरे।
वैशाख ९, २०८३ बुधबार १७:३९:५२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।