३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने
काठमाडौं : सरकारले घरजग्गा कारोबारलाई थप पारदर्शी र मर्यादित बनाउन महानगर र उपमहानगरभित्र हुने उच्च मूल्यका कारोबारमा नयाँ नियम लागू गरेको छ।
वैशाख ८ गतेदेखि ३ करोड रुपैयाँभन्दा बढीको घरजग्गा खरिद–बिक्री गर्दा अनिवार्य रूपमा इजाजत प्राप्त कम्पनी वा एजेन्सीमार्फत मात्र प्रक्रिया अघि बढाउनुपर्ने भएको हो।
भूमि सुधार तथा मालपोत कार्यालय डिल्लीबजारले एक सूचना जारी गर्दै भूमि व्यवस्थापन तथा अभिलेख विभागको निर्देशन अनुसार यो व्यवस्था कार्यान्वयनमा ल्याइएको जनाएको छ।
यो नयाँ व्यवस्था मालपोत ऐन, २०३४ को दफा २६क. र नेपाल सरकारले २०८२ असोज २७ मा राजपत्रमा प्रकाशित गरेको सूचनाको आधारमा कार्यान्वयनमा ल्याइएको हो।
महानगर र उपमहानगरभित्रका प्राकृतिक वा कानुनी व्यक्तिहरूबीच हुने उच्च मूल्यका कारोबारहरूमा पारदर्शिता कायम गर्न सरकारले यस्तो कदम चालेको हो। भूमि सुधार तथा मालपोत कार्यालय डिल्लीबजारका अनुसार यसअघि व्यक्तिगत रूपमा हुँदै आएका ठूला कारोबारहरू अब इजाजत प्राप्त संस्थाको संलग्नता बिना मालपोतबाट पारित हुने छैनन्।
सरकारी सूचना अनुसार इजाजत पत्र प्राप्त गरेका आधिकारिक कम्पनीहरूको सूची विभागको वेबसाइटमा उपलब्ध गराइएको छ। सरोकारवालाहरूलाई वैशाख ८ गतेदेखि नै यो नियम पालना गर्न र सूचीकृत कम्पनीहरू मार्फत मात्र लिखित प्रक्रिया अघि बढाउन कार्यालयले सूचित गरेको छ।
यो नियमको पालनाले घरजग्गा कारोबारमा हुन सक्ने ठगी नियन्त्रण गर्न र राजस्व प्रणालीलाई थप व्यवस्थित बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
वैशाख ९, २०८३ बुधबार ११:०४:२५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।