हस्पिटालिटी क्षेत्रको प्रवर्द्धनका लागि एफबीएचको तयारी

हस्पिटालिटी क्षेत्रको प्रवर्द्धनका लागि एफबीएचको तयारी

काठमाडौं : नेपालको खाद्य तथा हस्पिटालिटी क्षेत्रको व्यावसायिक विकास र आधुनिकीकरणलाई लक्षित गरी 'फुड एन्ड वेभरेज एन्ड हस्पिटालिटी (एफबीएच)’ आयोजना हुने भएको छ। हस्पिटालिटी क्षेत्रमा भइरहेको विकास र व्यावसायिक अवसरहरूलाई एउटै मञ्चमा जोड्ने उद्देश्यले प्रदर्शनी आयोजना हुन लागेको हो।

नेपालमा यस उद्योगमा हाल २५ हजार ५०० भन्दा बढी व्यावसायिक प्रतिष्ठानहरू सञ्चालनमा छन्, जसले करिब ९४ हजार व्यक्तिलाई प्रत्यक्ष रोजगारी प्रदान गरिरहेका छन्। सन् २०२३ मा १२ लाखभन्दा बढी विदेशी पर्यटकको आगमन भएको र आगामी दुई वर्षभित्र थप २५ वटा नयाँ तारे होटलहरू सञ्चालनमा आउने अपेक्षा गरिएको छ।

प्रदर्शनीले दिगोपन, स्थानीय स्रोतको उपयोग र फोहोर न्यूनीकरण जस्ता विश्वव्यापी प्रचलनहरूलाई प्राथमिकता दिने विज्ञप्तिमा उल्लेख छ। प्रविधिको बढ्दो प्रभावसँगै प्रदर्शनीमा क्यूआर कोड मेनु, क्लाउड किचन र एआई सञ्चालित होटल सेवाहरू जस्ता नवीन विषयहरू समावेश गरिनेछन्। साथै, स्वास्थ्यवर्धक पर्यटन र अनुभवजन्य पर्यटनका नयाँ आयामहरूबारे पनि प्रदर्शनीमा चर्चा हुनेछ।

प्रदर्शनीले होटल, रिसोर्ट, रेस्टुरेन्ट र क्याफे सञ्चालकहरूका लागि आवश्यक नवीन डिजाइन, किचेनवेयर र प्रविधि उपलब्ध गराउनेछ। खुद्रा व्यापारका क्षेत्रमा आबद्ध सुपरमार्केट र किराना पसल सञ्चालकहरूका लागि नयाँ आपूर्तिकर्ताहरूसँग सिधा सम्पर्क स्थापित गर्ने र थोक मूल्यमा प्रतिस्पर्धात्मक लाभ लिने अवसर प्रदान गर्ने लक्ष्य राखिएको छ।

वैशाख ८, २०८३ मंगलबार १७:३७:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।