नौ महिनामा वैदेशिक व्यापार १४.४० प्रतिशतले बढ्यो, व्यापार घाटा साढे १२ खर्ब माथि

नौ महिनामा वैदेशिक व्यापार १४.४० प्रतिशतले बढ्यो, व्यापार घाटा साढे १२ खर्ब माथि

काठमाडौं : चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो नौ महिना (साउन–चैत)मा नेपालको वैदेशिक व्यापारको आकारमा उल्लेख्य वृद्धि भएको छ।

भन्सार विभागले सार्वजनिक गरेको चैत मसान्तसम्मको तथ्याङ्क अनुसार कुल वैदेशिक व्यापार अघिल्लो वर्षको सोही अवधिको तुलनामा १४.४० प्रतिशतले बढेर १७ खर्ब १३ अर्ब ४३ करोड रुपैयाँ पुगेको छ।

तथ्याङ्क अनुसार समीक्षा अवधिमा आयात र निर्यात दुवैमा वृद्धि देखिएको छ। चैत मसान्तसम्ममा  आयात १३ दशमलव ८२ प्रतिशतले वृद्धि भई १४ खर्ब ९० अर्ब ४९ करोड रुपैयाँभन्दा बढी पुगेको छ।

अघिल्लो आवको सोही अवधिमा नेपालले १३ खर्ब ९ अर्ब रुपैयाँ बराबरको वस्तु तथा सेवा आयात गरेको थियो ।

त्यसैगरी, निर्याततर्फ भने केही उत्साहजनक सुधार देखिएको छ। यस अवधिमा निर्यात १८ दशमलव ४६ प्रतिशतले बढेर २ खर्ब २२ अर्ब ९३ करोड रुपैयाँ पुगेको छ। गत वर्षको यसै अवधिमा १ खर्ब ८८ अर्ब १९ करोडको मात्र वस्तु तथा सेवा निर्यात भएको थियो। 

त्यस्तै, गत फागुनसम्म नेपालको निर्यात १ खर्ब ९१ अर्ब रुपैयाँभन्दा बढी रहेको थियो ।

निर्यातमा वृद्धि भए पनि आयात उच्च दरले बढिरहेकाले व्यापार घाटा थप फराकिलो भएको छ। समीक्षा अवधिमा १३ दशमलव ०४ प्रतिशतले बढेर १२ खर्ब ६७ अर्ब ५६ करोड रुपैयाँ व्यापार घाटा बेहोरेको छ। गत आवको चैतसम्म व्यापार घाटा ११ खर्ब २१ अर्ब रुपैयाँभन्दा बढी रहेको थियो ।

अर्थविद्हरूका अनुसार निर्यात बढ्नु सकारात्मक संकेत भए पनि आयातमा उच्च निर्भरता कायमै रहेकाले व्यापार सन्तुलनमा चुनौती देखिएको छ। दीर्घकालीन रूपमा व्यापार घाटा घटाउन उत्पादन वृद्धि, निर्यात विविधीकरण तथा आयात प्रतिस्थापनमा जोड दिनुपर्ने आवश्यकता औंल्याइएको छ।

वैशाख ८, २०८३ मंगलबार ११:०२:३५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।