सरकारी कर्मचारीलाई अब महिनामा दुई पटक तलब

सरकारी कर्मचारीलाई अब महिनामा दुई पटक तलब

काठमाडौं : नेपाल सरकारले कर्मचारीहरूको पारिश्रमिक भुक्तानी प्रणालीमा महत्त्वपूर्ण परिवर्तन गर्दै अब महिनामा दुई पटक तलबभत्ता दिने निर्णय गरेको छ। 

अहिलेसम्म सरकारी कर्मचारीले महिना मरेपछि मात्रै मासिक रूपमा एकमुस्ट तलब र भत्ता बुझ्दै आएका थिए। तर, अर्थ मन्त्रालयले अबदेखि हरेक १५/१५ दिनमा पारिश्रमिक भुक्तानी गर्ने परिपाटीको सुरुवात गरेको हो।

यस नयाँ व्यवस्थालाई कार्यान्वयनमा ल्याउन अर्थ मन्त्रालयको बजेट तथा कार्यक्रम महाशाखाले महालेखा नियन्त्रक कार्यालय, अनामनगरलाई पत्राचार गरिसकेको छ।

मन्त्रालयका सहसचिव डा. सुमन दाहालद्वारा हस्ताक्षरित पत्रमा भनिएको छ, ‘राष्ट्रसेवक सरकारी कर्मचारीहरूको तलबभत्ता सुविधा वितरणको कार्य महिना भुक्तान भएपछि मासिक रूपमा गर्दै आइएकोमा अब यसलाई अर्धमासिक रूपमा भुक्तानी गर्ने परिपाटी सुरुवात गर्ने सन्दर्भमा अर्धमासिक रूपमा वितरण गर्ने आवश्यक व्यवस्था मिलाउन अनुरोध छ।’

पत्रमा उल्लेख भएअनुसार, कर्मचारीलाई महिनामा दुईपटक तलब दिने यो निर्णय अर्थमन्त्री स्तरबाट मिति २०८३ वैशाख ४ गते भएको हो।

यो नयाँ नियम लागू भएसँगै अब देशभरका निजामती कर्मचारी, प्रहरी, सेना लगायतका राष्ट्रसेवकले महिनाको बीचमा र मसान्तमा गरी दुई किस्तामा आफ्नो पारिश्रमिक पाउनेछन्।

यसले कर्मचारीहरूको दैनिक आर्थिक व्यवस्थापन तथा घरायसी खर्च सञ्चालनमा थप सहजता ल्याउनुका साथै बजार चलायमान हुने अपेक्षा गरिएको छ।

विश्वका धेरै विकसित देशहरूमा कर्मचारी तथा कामदारलाई अर्धमासिक रूपमा पारिश्रमिक दिने चलन रहेको छ, नेपालले पनि सोही अभ्यासलाई अपनाउन लागेको हो।

वैशाख ७, २०८३ सोमबार ०९:४३:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।