निफ्राको नाफा २६ करोडले खुम्चियो, प्रतिशेयर आम्दानी ३ रुपैयाँ ९७ पैसा

निफ्राको नाफा २६ करोडले खुम्चियो, प्रतिशेयर आम्दानी ३ रुपैयाँ ९७ पैसा

काठमाडौं : चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमास (साउन–चैत) सम्ममा नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) को नाफा २८.५३ प्रतिशतले घटेको छ।

बैंकले आज सार्वजनिक गरेको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार ९ महिनाको अवधिमा ६४ करोड ३३ लाख १० हजार रुपैयाँ नाफा कमाएको छ। जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा २८.५३ प्रतिशतले कम हो। गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ९० करोड ७४ हजार रुपैयाँ नाफा कमाएको थियो।

बैंकको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा घटेसँगै नाफामा गिरावट आएको हो। समीक्षा अवधिमा खुद ब्याज आम्दानी २७.०३ प्रतिशतले घट्दा खुद फि तथा कमिशन आम्दानी भने ६६.३५ प्रतिशतले बढेको छ।

त्यसैगरी कुल सञ्चालन आम्दानी २६.२० प्रतिशत र सञ्चालन मुनाफा २८.४२ प्रतिशतले घटेको छ। वितरणयोग्य मुनाफा पनि ३०.१२ प्रतिशतले घटेर ५३ करोड ७७ लाख रुपैयाँमा सीमित भएको छ। नाफा घटेसँगै बैंकको प्रतिशेयर आम्दानी पनि प्रभावित भएको छ । समीक्षा अवधिमा प्रतिशेयर आम्दानी १ रुपैयाँ ५९ पैसाले घटेर ३ रुपैयाँ ९७ पैसामा झरेको छ।

चैत मसान्तसम्म बैंकको प्रतिशेयर नेटवर्थ ११५ रुपैयाँ ८४ पैसा रहेको छ भने मूल्य–आम्दानी अनुपात ६७.४४ गुणा रहेको छ। २१ अर्ब ६० करोड रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा ३ अर्ब ४२ करोड ५ लाख रुपैयाँ सञ्चित छ। 

चैत मसान्तसम्म बैंकले ७ अर्ब ८० करोड ३० लाख रुपैयाँ निक्षेप संकलन गरी २८ अर्ब ५४ करोड ६४ लाख रुपैयाँ कर्जा परिचालन गरेको जनाएको छ ।

वैशाख ६, २०८३ आइतबार १२:३८:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।