विशेष महाधिवेशनलाई देउवा पक्षले गर्यो स्वीकार, एकतामा सर्त खोज्ने

विशेष महाधिवेशनलाई देउवा पक्षले गर्यो स्वीकार, एकतामा सर्त खोज्ने

काठमाडौं: नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवा पक्षले सर्वोच्च अदालतको फैसलालाई स्वीकार गरेर अघि बढ्ने निष्कर्ष निकालेको छ। 

साथै शनिबार गोल्फुटारस्थित निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काको निवासमा भएको छलफलमा नेताहरूले एकताका लागि महाधिवेशन निष्पक्ष हुने सुनिश्चितता खोजेका छन्।

नेता मीन विश्वकर्माले पार्टीलाई एकताबद्ध बनाउने जिम्मेवारी अब गगन थापाको काँधमा आएको बताए। उनले भने, “पहिले शेरबहादुर देउवाको खुट्टामा रहेको बल अहिले सर्वोच्च अदालतले गगन थापाको खुट्टामा फालिदिएको छ। अब उहाँले नै पार्टीलाई कसरी एकताबद्ध बनाउने र सबैलाई समेटेर लैजाने भन्नेमा विशेष पहलकदमी लिनुपर्छ।”

फैसलाका केही प्राविधिक विषयमा असहमति रहे पनि कांग्रेस कानुनी राज्य र स्वतन्त्र न्यायपालिकाको सम्मान गर्ने पार्टी भएकाले फैसला स्वीकार गर्ने विश्वकर्माको भनाइ छ। छलफलमा आगामी दिनमा पार्टीलाई कसरी एकताबद्ध बनाएर लैजान सकिन्छ भन्ने विषयमा परामर्श भएको उनले जानकारी दिए।

पूर्णबहादुर खड्काले अब निवर्तमान कार्यवाहक सभापतिकै रूपमा काम गर्ने उनले बताए। सर्वोच्च अदालतमा आफ्नो दाबी विरोध लिएर जाँदा खड्का कार्यवाहक सभापति भनेरै गएको उनको भनाई थियो। “अब उहाँ निवर्तमान कार्यवाहक सभापति हुनुभयो, त्यसलाई स्वीकारेका छौं,” उनले भने। 

पार्टीभित्रको कानुनी विवाद अन्त्य भएसँगै अब सबै मिलेर अघि बढ्नुपर्नेमा नेताहरू छन्। तर, पार्टी एकता कायम राख्न आगामी १५औँ महाधिवेशनको निष्पक्षतालाई मुख्य सर्तको रूपमा अघि सार्नुपर्ने विषयमा छलफल भएको थियो।

नेता डा. प्रकाशशरण महतले आगामी महाधिवेशनलाई स्वतन्त्र र विश्वसनीय बनाउन चुनाव नलड्ने नेताहरूको छुट्टै संयन्त्र बनाउनुपर्ने प्रस्ताव प्रस्तुत गरे। संस्थापन पक्षबाट पार्टीलाई एकताबद्ध बनाउने ठोस र सम्मानजनक प्रस्ताव आउनुपर्नेमा उनीहरूको जोड छ।

यद्यपि देउवा पक्षले थप रणनीति तय गर्न आइतबार फेरि आफू पक्षीय नेताको बैठक बैलाएको छ। शुक्रबार सर्वोच्च अदालतले निर्वाचन आयोगको निर्णय सदर गरेपछि कांग्रेसभित्रको आधिकारिकता विवाद कानुनी रूपमा टुङ्गिएको थियो।

वैशाख ५, २०८३ शनिबार २०:२२:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।