रिट खारेज भएपछि छलफलमा जुट्यो देउवा पक्ष, खड्काले बोलाए बैठक

रिट खारेज भएपछि छलफलमा जुट्यो देउवा पक्ष, खड्काले बोलाए बैठक

काठमाडौं : सर्वोच्च अदालतले नेपाली कांग्रेसको विशेष महाधिवेशनलाई वैधानिकता दिएपछि उत्पन्न परिस्थितिबारे छलफल गर्न पूर्व सभापति शेरबहादुर देउवा पक्षीय नेताहरू आन्तरिक परामर्शमा जुटेका छन्।

अदालतको फैसलापछि आगामी रणनीति तय गर्न निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४ औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको बैठक बोलाएका हुन्।

गएको पुसमा सम्पन्न विशेष महाधिवेशन र त्यसबाट निर्वाचित गगन थापा नेतृत्वको कार्यसमितिलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयलाई सर्वोच्चले शुक्रबार राति सदर गरेको थियो। साथै, उक्त निर्णयविरुद्ध देउवा पक्षले दायर गरेको रिटलाई अदालतले खारेज गरिदिएको छ।

नेता खड्काले शनिबार दिउँसो आफ्नै निवासमा बोलाएको बैठकमा अदालतको फैसला र आगामी कदमबारे छलफल हुने भनिएको छ। उनले शनिबार बिहानैदेखि निकटस्थ नेताहरूसँग संवाद गरिरहेका छन्। सामूहिक छलफलपछि खड्काले औपचारिक धारणा सार्वजनिक गर्ने बताइएको छ। 

वैशाख ५, २०८३ शनिबार १४:२९:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।