सुनसरी खाग प्रकरणः चारै जना अभियुक्त माथि अनुसन्धान, ठूलो गिरोह संलग्न रहेको आशंका
सुनसरी : सुनसरीको बर्जु गाउँपालिका–४ बाट दुर्लभ वन्यजन्तु गैँडाको खागसहित पक्राउ परेका चार जनामाथि अनुसन्धान सुरु गरिएको छ।
शुक्रबार बर्जु ताल नजिकै खागको तौल लिइरहेको अवस्थामा सशस्त्र प्रहरी बलको नम्बर १ बराह वाहिनी पक्कलीबाट खटिएको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको थियो।
पक्राउ पर्नेमा बर्जु–६ का ३९ वर्षीय राजेशकुमार उराँव, ३१ वर्षीय जीवन चौधरी, बर्जु–५ का ३३ वर्षीय रविनकुमार यादव र मोरङ पथरी शनिश्चरे नगरपालिका–१ का ४० वर्षीय नारायणप्रसाद घिमिरे रहेको डिभिजन वन कार्यालय सुनसरीले जनाएको छ।
डिभिजन वन कार्यालय इनरुवाका डिभिजनल वन अधिकृत रितेशभूषण बस्नेतका अनुसार पक्राउ परेका अभियुक्त र बरामद खाग डिभिजन वन कार्यालय इनरुवालाई बुझाइएको छ।
अनुसन्धानका लागि कार्यालयका वैजुकुमार साहलाई अनुसन्धान अधिकृत तोकिएको छ। गैँडाको खागजस्तो ल्याइएको वस्तु परीक्षणका लागि राष्ट्रिय विधि विज्ञान प्रयोगशाला खुमलटार काठमाडौँ पठाइएको छ।
परीक्षण रिपोर्टको आधारमा कानुनी प्रक्रिया अगाडि बढ्ने उनले बताए। यसको सञ्जाल ठूलो भएको उनको बुझाइ छ। खाग पछाडि एउटा ठूलो समूहको सञ्जाल भएको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको डिभिजनल वन अधिकृत बस्नेतले बताए।
कहाँबाट ल्याइएको हो र कता लैजान खोजिएको विषयमा यकिन हुन बाँकी रहेको छ। पक्राउ परेकाविरुद्ध राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अन्तर्गत अनुसन्धान अघि बढाइने डिभिजन वन कार्यालय प्रमुख शिवनारायण मण्डलले बताए।
वैशाख ५, २०८३ शनिबार १०:३७:४० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।