पहाड : तुल्सी घिमिरेले अब फिल्म निर्देशनबाट संन्यास लिएकै राम्रो

पहाड : तुल्सी घिमिरेले अब फिल्म निर्देशनबाट संन्यास लिएकै राम्रो

तीन दशकअघि निर्माण भएको फिल्म ‘लाहुरे’, ‘चिनो’, दक्षिणा’,‘कुसुमे रुमाल’हुँदै ‘दर्पणछाया’ले नेपाली दर्शकलाई लोभ्यायो। ती फिल्म हलमा लागेपछि दर्शकको चाप बढ्यो। नेपाली दर्शकले फरक स्वादको अनुभव गरे। अनि निर्देशनमा ब्रान्ड बने तुल्सी घिमिरे।

त्यही अपेक्षा लिएर हलमा लागिरहेको फिल्म पहाड हेर्न जाने हो भने हातमा निराशा मात्र पर्ने छ। त्यसका लागि 'मोहनी लाग्ला है' भन्ने बोलको गीतको बोल नै काफी छ। पुरानो नेपाली फिल्मका दर्शकका लागि यो शब्द सुन्दा मष्तिष्कमा जुन दृश्य नाच्न थाल्छ त्यसको तुलनामा निकै कमजोर छ यो गीत। उही टोनमा यति कमजोर गीत किन राख्या होला?

गीत कमजोर हुँदैमा फिल्म कमजोर हुन्छ र भन्ने लाग्न नि सक्छ। पक्कै हैन। न एउटा गीत बलियो हुँदैमा फिल्म बलियो बन्न सक्छ न त एउटा गीत कमजोर हुँदा नै फिल्म कमजोर हुन्छ। गीत मात्रै हैन, फिल्मको कथा र पटकथालाई समयसापेक्ष बनाउन नसक्नु अनि फिल्म निर्माणमा उही पुरानै थ्यौरी प्रयोग हुनु यो फिल्मको अर्को कमजोर पक्ष हो जुन कारण उनै तुल्सी घिमिरेले यो फिल्म बनाएको हो भन्ने पत्याउन अलि गार्है हुन्छ।

हुन त उनी आठ वर्षअघि निर्माण गरेको फिल्म ‘दर्पण छाया २’ बाटै अब चैँ फिल्म निर्माणमा कमजोर भइसकेछन् भन्ने नदेखिएको हैन। तर जसरी फिल्म पहाडले ट्रेलरबाट दर्शकको ध्यान तान्न सफल भएको थियो त्यसको आधारमा दर्पण छाया-२ मा गरेको कमजोरी सुधारेकी भन्ने आसले हलसम्म पुग्ने दर्शकहरू निराश भएर बाहिरिन बाध्य हुन्छन्।

फिल्म पहाड हेर्दा जुन समयमा घिमिरे फिल्म निर्माणमा प्रवेश गरेका थिए उनी त्यतै अड्किएको देखियो। सन् २०२६ मा आएर समाजमा भएको विकासक्रम, बदलिएको सोच र अवस्थासँगै दर्शकको बदलिँदै गएको स्वादबारे कि उनी जानकार नै छैनन् कि जानेर पनि आफ्नो फ्लेवर छाड्न चाहेनन् भन्ने देखियो।

अब लागौँ कथासारतर्फ,

एउटा पहाडको कथामा बनेको फिल्म हो यो जहाँ पानीको हाहाकार छ। पानीका लागि एउटा ढुङ्गेधारा नै सबैको स्रोतको मुख्य आधार हो। गाउँमा खडेरी देखाएर नरसिंह बाजे (सुनिल थापा)ले एक फ्याक्ट्रीका लागि गाउँ नै बेचिदिने तयारी गर्छन्। तर उनकी छोरी तारा (पञ्चमी घिमिरे) बुबाको निर्णयको विपक्षमा उभिन्छिन्। प्रेमी अर्जुन (अरुण क्षेत्री) पनि ताराको पक्षमा लाग्छन्।

अमेरिका जाने प्रयासमा रहेका अरुणको सपना बिचैमा तुहिन्छ। ऋणको भारी बोकेर उनी अन्तमा भारत भासिन्छन्। त्यही छन् अर्का पात्र राजा (विपिन कार्की)। आमा (प्रियङ्का कार्की)को उतै मृत्यु भएपछि राजा भारतमै अपराध कर्ममा लागेका हुन्छन्।

त्यतै भेटिन्छन् नेपाली (शिव श्रेष्ठ)। यता गाउँमा पानीको हाहाकारको लडाइँसँगै गाउँ बेच्ने प्रयास जारी नै छ। भारत भासिएका राजादेखि अर्जुनसम्म गाउँ फर्कन्छन्। त्यसपछि सुरु हुन्छ गाउँ बेच्ने अभियान विरुद्धको लडाई अनि गाउँमा पानी ल्याउने संघर्ष। यसमा कसको जीत हुन्छ? फिल्मको सस्पेन्स यही हो।

बलियो पक्ष 

यो फिल्मको सबैभन्दा सबल पक्ष भनेकै तुल्सी घिमिरे पुन फिल्म निर्देशनमा फर्कनु हो। यसमा ग्रामीण परिवेशलाई पर्दामा ल्याउने प्रयास अनि भारतमा भासिएका नेपाली कथा पस्कने प्रयासलाई पनि सकारात्मक मान्न सकिन्छ।

पटकथामा केही हदसम्म निर्देशकले मिहेनत गरेको देखिन्छ। गाउँ छाडेर परदेशिएका युवाहरूलाई उनले महेन्द्र शाहको शहरबाट गाउँ फर्कन पञ्चायतकालमा ल्याएको गाउँ फर्कन अभियानकै शैलीमा देश फर्काउने सन्देश दिने प्रयास गरेका छन्। 

मुख्य अभिनेता अरुण क्षेत्रीको अभिनय ठिकै छ। विपिनले आफ्नो अभिनयको साख जोगाउन सकेका छन्। रेणुनाथ योगीको अभिनय पनि बलियो देखिन्छ फिल्ममा। मदनकृष्ण श्रेष्ठले अभिनयको लय समातेका छन्। ब्याकग्राउण्ड म्युजिकले दर्शकलाई बोर हुन दिँदैन। छायाङ्कन र सम्पादनको काम ठिकठाकै छ। केही दृश्यले दर्शकको मन चस्स बनाउँछ। यो भन्दा बढी सवल पक्ष त यसका निर्देशकले पनि भेट्टाउन सक्दैनन् होला।

कमजोर पक्ष

फिल्मले निश्चित समयको कथा बोकेको हुन्छ। त्यो समयको समाज पर्दामा देखाउनु निर्देशकको जिम्मेवारी हो। फिल्म पहाडको सबैभन्दा ठूलो समस्या नै यो कुन कालखण्डको कथा हो भन्ने छुट्टाउनै सकस पर्छ।

फिल्ममा द्वन्द्वको निर्माण गर्न पानीको अभाव अनि त्यही अभावलाई बहाना बनाएर गाउँ नै बेच्न खोज्ने अवसरवाद विरुद्धको लडाई हो। अहिलेको कालखण्डमा राखेर यसलाई हेर्ने हो भने यो द्वन्द्व निर्माण गर्न लिइएको घटनाक्रम वर्तमान अवस्थासँग फिटिक्कै मिल्दैन। अहिलेको जमानामा एउटा सानो समस्या देखाएर गाउँ नै बेचिदिने हैसियतका सामन्त हाम्रो समाजमा छन् र?

हैन, निर्देशकले राजा महेन्द्रबाट प्रभावित भएर यो फिल्म बनाएकाले पञ्चायतकालीन परिवेश हो भन्ने हो भने त्यो बेलामा नेपालीलाई वैदेशिक रोजगारीमा खाडी देश अनि अमेरिका लैजान कन्सल्टेन्सी खुलेका थिए र!  

निर्देशकले परदेश गएका युवालाई घरदेश फर्काउने असल सन्देश लिएर फिल्म त बनाए। तर फिल्ममा आवश्यक तत्त्वहरू मिसाउन नजान्दा सानो समस्यालाई तन्काएको तन्काएकै गरेर अति झ्याउ लाग्दो बनाइदिए।

नेपालकै गाउँमा हुर्किएको अभिनेत्रीको त्यो तहको ध्वस्त नेपाली संवाद किन राख्या होला फिल्ममा? म तुल्सी घिमिरे हुँ, मैले जे दिन्छु त्यो पचाउनै पर्छ भनेको जस्तै देखियो अभिनेत्रीको चरित्र चित्रण र संवादको लवजले।

घिमिरेले निर्देशन गर्ने फिल्ममा नेपाली मूलका भारतीय कलाकार हुँदा हिजो पनि लवजमा यस्तै किरकिर सुनिन्थ्यो। त्यो बेलामा नेपालमा खोजे जस्तो कलाकार छैनन्, त्यही भएर उतैबाट ल्याए भन्ने ठाउँसम्म थियो। तर अहिले त त्यो समस्या छैन। यति दर्दनाक नेपाली टोन भएको कलाकारलाई अभिनय पनि गराउने अनि उनकै आवाजमा डबिङ गर्ने कामलाई त्रुटि हैन दर्शकलाई हेपेकै भन्ने देखियो।

यति ध्वस्त नेपाली लवज भएपछि त बरु अन्य कुनै कलाकारको आवाज डब गराएको भए पनि हुने नि। त्यहीँ विपिन कार्कीको लवज दर्शकले मजाले पचाउँछन्। किनकि उनको चरित्र लामो समय भारतमा बसेको पात्रको छ। लामो समय भारतमा बसेकाले उनको बोलीमा भारतीय टोन मिसिएछ भनेर दर्शक फिल्म हेर्दा कन्भिन्स हुन्छन् अनि मजा पनि मान्छन्। तर अभिनेत्रीको टोनले त अति किरकिर बनाउँछ फिल्म।

खस्किँदै गएको पञ्चायती व्यवस्थालाई मलजल गर्ने प्रयास स्वरूप तत्कालीन शासकले गाउँ फर्कन अभियानको प्रारम्भ गरे पनि त्यसले एकतन्त्रीय पञ्चायत शासनकाल लम्ब्याउन सकेन। नागरिकमा बढ्दो राजनीतिक चेतका अगाडि देशभक्ति देखाउन ल्याइएको अभियान असफल भयो। केही समय पक्कै लम्बियो तर त्यसले बहुदलीय प्रणालीको स्थापनाको अभियानलाई रोक्न सकेन। दरबारको नक्कली देशभक्ति अभियानको अगाडि युवाको राजनीतिक चेतकै जीत भयो।

तुल्सी घिमिरेको फिल्म पहाडको हालत पनि त्यही पञ्चायतीकालको नक्कली देशभक्तिका लागि ल्याइएको गाउँ फर्क अभियानको भन्दा फरक देखिएन। देशभक्तिको लेपन त लगाउने प्रयास गरे तर लेपन बास्नादार हैन ठ्वास्स गन्हाउने पर्यो।

पहाड हेर्दा लिजेन्ड्री निर्देशक घिमिरे सन् २०२६ को प्रविधि र दर्शकको चेतभन्दा धेरै पछाडि छन् भन्ने देखियो। दर्पणछाया-२ को अवस्था र पहाड हेर्दा कुनै सुधारको संकेत देखिएन। 

नेपाली फिल्म निर्माणमा अतुलनीय इतिहास बोकेका घिमिरेले कि त बदलिँदो समय र दर्शकको स्वादलाई सुक्ष्म ढंगले बुझ्न जरुरी छ, कि त आफ्नो ओजिलो साख जोगाइराख्न फिल्म निर्माणको यो दौडबाट विश्राम लिने साहस गर्नुपर्छ। 'पहाड' जस्तै कमजोर सिर्जनाले उनको गौरवमय विगतको उचाईलाई मात्र घटाउने काम गरेको छ।  

वैशाख ४, २०८३ शुक्रबार २०:२८:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।