जम्बो टोली बोकेर फ्लोरमा जाँदै ‘पारस’, सुटुक्क गरियो ‘लुक्स टेस्ट’
काठमाडौं : नेपाली चलचित्र नगरीमा पुराना र नयाँ पुस्ताका चर्चित स्टारहरूको भिड लाग्ने नयाँ चलचित्रको चर्चा सुरु भएको छ।
एक्सन निर्देशकको छवि बनाएकी कृषा चौलागाईंको निर्देशनमा बन्न लागेको तेस्रो चलचित्र ‘पारस’ असार १५ गतेबाट फ्लोरमा जाने पक्का भएको छ।
चलचित्रको सुटिङ मिति नजिकिँदै गर्दा निर्माण टोलीले बिहीबार बालाजु ल्याबमा कलाकारहरूको ‘फेस टेस्ट’ अर्थात् लुक्स टेस्ट गराएको छ। कुन कलाकार कुन अवतारमा देखिनेछन् भन्ने कौतूहलका बीच निर्माण टिमले सुटुक्क यो तयारी गरेको हो।
पुराना र नयाँ स्टारको रोचक जुहारी
‘पारस’ को सबैभन्दा बढी चर्चामा रहेको पक्ष यसको जबर्जस्त ‘कास्टिङ’ हो।
चलचित्रमा पुराना तथा सदाबहार स्टारहरू निखिल उप्रेती, रमेश उप्रेती र निरुता सिंह एकसाथ पर्दामा देखिँदैछन्। उनीहरूलाई साथ दिन नयाँ पुस्ताका सुदर्शन नायक सुशील श्रेष्ठ र ग्लामर्स गर्ल जसिता गुरुङ पनि अनुबन्धित भइसकेका छन्।
पुराना र नयाँ पुस्ताका यी हटकेका स्टारहरूलाई पर्दामा एकसाथ हेर्न पाउनु दर्शकका लागि निकै रोचक प्याकेज हुने अनुमान चलचित्र वृत्तमा काटिन थालिएको छ। चलचित्रमा पुस्कर गुरुङको पनि अभिनय रहनेछ भने बाँकी कलाकारहरूको छनोट कार्य अझै गोप्य राखिएको छ।
पर्दा पछाडिको बलियो बल
केपी फिल्म्सको ब्यानरमा बन्न लागेको यस चलचित्रको पटकथा भारतीय लेखक सचिन लादियाले तयार पारेका हुन्, जसले चलचित्रमा केही फरक स्वाद पस्कने अपेक्षा गरिएको छ।
चलचित्रको दृश्यलाई क्यामेरामा कैद गर्ने जिम्मेवारी चर्चित छायाकार पुरुषोत्तम प्रधान (डीओपी) को काँधमा छ। क्यामेरा टिममा मानकृष्ण महर्जन र शेखरबहादुर तामाङ रहनेछन्।
केही साताअघि मात्रै ‘नेपाल आइडल सिजन ३’ की विजेता सज्जा चौलागाईँको स्वरमा चलचित्रको पहिलो गीत रेकर्ड भइसकेको छ। कोशिश क्षेत्रीको शब्द र संगीत रहेको यो गीतले चलचित्रको हाइपलाई थप बल पुर्याउने विश्वास गरिएको छ।
चलचित्रको एक्सन पाटोलाई शुक्रराज शाहले हेर्नेछन् भने नृत्य निर्देशन कविराज गहतराजले सम्हाल्नेछन्।
यस्तै, सत्यम राणा र समीर मियाँले भीएफएक्स, सरोज बुढाथोकीले मेकअप र कुलदीप शर्माले मुख्य सहायक निर्देशकको रूपमा काम गर्नेछन्। पब्लिसिटी र पोस्टर डिजाइनको काम राकेश दाहालले सम्हाल्नेछन्।
जेठ २९, २०८३ शुक्रबार १०:१९:०८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।