हास्यकलाकारहुँदै निर्माता बनेका कलाकार जितु नेपाल भन्छन् “कसैलाई निन्द्रा नलागोस् भन्ने लागे निर्माता बनाइदिए हुने रहेछ”
काठमाडौं : तीन दशकअघि नेपाल टेलिभिजनमा आउने हास्यटेलिश्रृंखला ‘ट्वाक्कटुक्क’बाट जन्मिएका कलाकार हुन् सिन्धुपाल्चोकका जितु नेपाल। जित बहादुर नेपालबाट उनी यसै शृङ्खलामार्फत जितु नेपाल भए। दर्जनौँ फिल्ममा चङ्खे, चम्चेको पात्रमा अभिनय गरेका उनी आफैँले निर्माण गरेको ‘जिरे खुर्सानी’नामक हास्य टेलीश्रृंखलाले मुन्द्रेको रूपमा परिचित भए।
एकाएक तीन वर्षअघि फिल्म ‘ह्यारी कि प्यारी’,‘कार्साङ’,‘ज्वाइँ साब’मा उनी मुख्य भूमिकामा देखिए। अर्को फिल्म ‘कार्की साइँला’ प्रदर्शनको पर्खाइमा छ। यसबीचमा उनी आफैँले लगानी गरेर फिल्म ‘आइएम जित बहादुर’निर्माण गरेका छन्। यतिबेला आफ्नै फिल्म प्रमोसनमा व्यस्त रहेका उनै जितबहादुरसँग उकेराकर्मी भोला अधिकारीले गरेको कुराकानी।
आफैँ निर्माता भएको फिल्म ‘आइएम जित बहादुर’को प्रचारप्रसारको अनुभव सुनौँ न।
विभिन्न मिडियामा अन्तरवार्तामा आइरहेको छु, धाइरहेको छु। कार्यक्रमहरूमा पनि गइरहेको छु। बोल्ने कुराहरू पनि बोलेको छु। केही बोल्न नपाए पनि हुन्थ्यो भन्ने कुराहरू पनि आइरहेका छन्।
अभिनेत्रीहरूले प्रमोसनमा साथ दिएनन् भनेको विषय विवादमा आयो। वर्षा राउत र प्रियङ्का कार्कीले त र्याखर्याख्ती पारेको देखियो। खास कुरा के हो?
र्याखर्याख्ती पारिकन पनि मुद्दा सिद्धिइसक्यो। त्यो अहिले त्यस्तो छैन।
कलाकार हुँदा त अरूको फिल्मको प्रमोसन गइन्छ,नजाँदाखेरि पनि अलिअलि गाली खाइन्थ्यो। अहिले आफ्नो फिल्ममा अरू नआइदिँदा कस्तो महसुस हुने रैछ?
अब यसो गरे हुन्थ्यो कि, उसो गरे हुन्थ्यो कि भन्ने हुने रहेछ। अब कत्रोकत्रो सिनेमा बनाइसकेका ब्यानरहरू ठुलठुला, राम्रै लगानी गरिसकेका सिनेमालाई त गाह्रो हुन्छ। मैले लौ न लौ भनेर सिनेमा बनाइहालेँ। पहिला अलिकति आत्तिएँ पनि। अलिकति प्रचारप्रसारको शैली नै परिवर्तन गरौँ जस्तो लाग्यो। मैले जानेसम्म अभिनय गरेका फिल्मका निर्माता,निर्देशकले चाहँदा नाइँ भनेको छैन। यदि म गइदिँदा प्रोड्युसरलाई राम्रो हुन्छ, केही बोल्दिदा प्रोड्युसर सुरक्षित हुन्छन् भने किन नगर्ने भन्ने लाग्छ। मैले पनि त्यस्तै सोचेँ। अहिले कुरा मिलिसक्यो।
प्रमोसनको नयाँ शैली भनेको कस्तो?
हामीले काठमाडौं बाहिर प्रचारका लागि कार्यक्रम लैजान सकेनौ। केही रचनात्मक कार्यक्रम गरौँ भनेर हामीले प्रमोसनका लागि कन्टेन्टतिर जोड दियौँ। त्यसको राम्रै प्रतिक्रिया आइरहेको छ।
फिल्मको नामै ‘आइएम जित बहादुर’ छ। आफ्नै कथा हो त?
बायोपिक हैन। मेरो बायोपिक बनाउने बेला पनि भएको छैन। यो एउटा थिएटर गर्ने कलाकारको संघर्ष र काठमाडौं आउने पात्रले गरेको संघर्षको कथा हो।
टेलिश्रृंखलामा खेल्नुअघि साइकलमा साग बेचेको,वायरिङ गरेको जस्ता वास्तविक संघर्ष टेलरमा देखिन्छ। त्यसले कतै बायोपिक हो कि भन्ने त पर्छ नै।
कलाकार बन्नु अगाडि यही भीमसेन गोलामा तरकारी पसल थियो। साइकलमा तरकारी बेचेकै हो। गार्मेन्टमा राति काम गरेकै हो। वायरिङ गर्ने,घरको ढलान हुँदा पाइप राख्ने काम गरेकै हो। दिनहुँ खर्च त जुटाउनु पर्यो। खानु पनि पर्यो, बस्नु पनि पर्यो। फेरि ‘ट्वाक्क टुक्क’ खेल्न पनि जानु पर्यो। केही संघर्षका दुखहरू चाहिँ छ।
कुरा निकालिहाल्नुभयो। त्यो बेला टेलिभिजनमा अनुहार देखाउन कतिको संघर्ष गर्नुपर्थ्यो?
ओहो..त्यो त सारै ठुलो, राज्य नै जिते समान हुन्थ्यो। ट्वाक्कटुक्कको एउटा जोक्समा खेल्न पाउनु भनेको ठुलै हो। त्यतिबेलाको सुपरस्टार प्रेम चरो हो। त्यतिबेला रेडियो नेपालमा नाटक गर्ने दमन रुपाखेती, दीपकराज गिरी,श्री प्रसाद थापा दाइँहरू हुनुहुन्थ्यो। टेलिभिजनको ठ्याक्कै गेटभन्दा अगाडि एउटा चिया पसल थियो। त्यो चिया पसलमा कलाकार बन्नेहरूको मेला नै लाग्थ्यो।
खेल्ने मौकाका लागि पापड कतिको बेल्नु पर्थ्यो?
दिनेश डिसी दाइ, नारायण त्रिपाठी दाइ,असिस्टेनहरुले ओए भनेपछि छिर्ने हो। कुरेर बसिन्थ्यो नि।
त्यो समय र अहिलेमा कति फरकपन आयो?
पहिलाको तुलनामा सहज त छ,अहिले। तर त्यतिबेलाको खुसी अहिले नपाए जस्तो,के नभा, के नभा जस्तो भने लाग्छ। त्यतिबेला ट्वाक्कटुक्कमा अभिनय गर्ने मौका पाए पनि पारिश्रमिक पाइँदैनथ्यो। तै पनि अर्कै खुसी हुन्थ्यो। आनन्दको निन्द्रा लाग्थ्यो। अहिले त्यस्तो अवस्था छैन।
एउटा जोक्समा अनुहार देखाउने सङ्घर्षबाट मुख्य पात्रै बन्नुभयो। एक प्रकारले हिरो नै हुनुभयो भनौँ न। अभिनयमा यो यात्रासम्म सोचिएको थियो त?
त्यो बेलामा हिरो भनेको शिव श्रेष्ठ,राजेश हमाल,सरोज खनाल,भुवन केसी दाइँहरू। हिरो हुन त खाइलाग्दो ज्यान भएका हुन्थेँ। हेर्दै हिरो जस्तो लाग्ने,कपाल पनि त्यस्तै, चट्ट पाखुरा भएका। अहिले कथा नै त्यस्तै बन्न थाल्यो। कटेन्ट प्रमुख हुन थाल्यो।
तपाईँको बुझाइमा अहिले कन्टेन्ट चल्न थालेको हो?
हो,कन्टेन्ट चल्न थाल्यो। कन्टेन्टले एउटा पात्र जन्मायो। त्यो पात्रमा हामी फिट भयौँ। मैले कहिल्यै पनि म हिरो बन्छु,म हिरोइनसँग नाच्छु भनेर सोच्दा पनि सोचिन। तर अफर आयो। सकेसम्म न्याय गर्ने प्रयास गरेँ।
हिरोहुँदै निर्माता पनि बन्नुभयो। अहिले निन्द्रा कतिको पर्दो रहेछ?
पर्दो रहेन छ नि। अनुहार नै खिस्रिक्क परिसक्यो,१२–१ बजेसम्म बस्छु। यताउता गफ गर्छु। यसो गरे पो होला कि, उसो गर्दा पो होला कि भन्यो। मान्छेको जात त्यही नै हो।
पुरा अन्तरवार्ता भिडियोमा हेर्नु होला।
जेठ २६, २०८३ मंगलबार २१:५९:१७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।