स्वस्तिमालाई ‘बेहुली फ्रम मेघौली’को पीडामा ‘लालीबजार’को मल्हम

स्वस्तिमालाई ‘बेहुली फ्रम मेघौली’को पीडामा ‘लालीबजार’को मल्हम

काठमाडौं : प्रदर्शनअघि कानुनी झमेला बेहोरेको फिल्म ‘लालीबजार’ले बक्स अफिसमा सुखद व्यापार गरेपछि अभिनेत्री स्वस्तिमा खड्का उत्साहित छन्। 

गत वैशाख १८ गते उच्च अदालत पाटनले फिल्मको प्रदर्शनमा रोक लगाएपछि केही समय अन्योल सिर्जना भए पनि वैशाख २५ गतेदेखि प्रदर्शनमा आएको फिल्म दर्शकलाई हलसम्म तान्न सफल भयो। 

चलचित्र विकास बोर्डको बक्स अफिस रिपोर्टअनुसार आइतबार रातिसम्म करिब २ लाख ९८ हजार दर्शकले फिल्म हेरिसकेका छन्। प्रदर्शनअघि सामाजिक सञ्जालमा विभिन्न विवाद र बहिष्कारको सामना गरे पनि हलमा दर्शकको बाक्लो उपस्थिति र सकारात्मक प्रतिक्रियाले निर्माण पक्षलाई राहत मिलेको छ। 

फिल्मले हालसम्म करिब ९ करोड रुपैयाँको कुल व्यापार (ग्रस कलेक्सन) गरेको जनाइएको छ, जुन यो वर्ष रिलिज भएका फिल्महरूमध्येकै उच्च हो। स्वस्तिमाले यसअघि निर्माण गरेको फिल्म ‘बेहुली फ्रम मेघौली’ले हलमा पर्याप्त शो नपाएपछि ओटिटी प्लेटफर्ममा सार्वजनिक गरिएको थियो। सो पृष्ठभूमिमा ‘लालीबजार’को सफलता उनका लागि व्यावसायिक रूपमा महत्त्वपूर्ण मानिएको छ।

यसैबीच, निर्माण टिमले फिल्मको चर्चित गीत ‘मै राम्री छु त नी’ युट्युबमा सार्वजनिक गरेको छ। प्रकाश सपूतको शब्द र सङ्गीत रहेको यस गीतमा दीपिका बयम्बू मगरको स्वर र प्रदीप लामाको कोरियोग्राफी छ। भिडियोमा स्वस्तिमा खड्कासँगै रवीन्द्र सिंह बानियाँ, मुकुन्द श्रेष्ठ, जानकी कडायत, आशा पौडेल, तारा शर्मा लगायतका कलाकारलाई फिचर गरिएको छ। यम थापाको निर्देशनमा तयार भएको यस फिल्ममा म्याक्स दीपेश खत्री, रवीन्द्रसिंह बानियाँ र प्रदीप भट्टराईको लगानी रहेको छ। 

जेठ २९, २०८३ शुक्रबार १७:०७:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।