नेपालमा तीन महिनामै टिकटकले हटायो १९ लाख बढि भिडियो

नेपालमा तीन महिनामै टिकटकले हटायो १९ लाख बढि भिडियो

काठमाडौं : सामाजिक सञ्जाल टिकटकले सन् २०२५ को अन्तिम त्रैमासिक (अक्टोबरदेखि डिसेम्बरसम्म)को 'कम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट रिपोर्ट' सार्वजनिक गरेको छ। सुरक्षित डिजिटल वातावरण निर्माण गर्ने उद्देश्यअनुरुप टिकटकले आफ्नो नीति तथा मापदण्ड उल्लङ्घन गर्ने कन्टेन्ट र एकाउन्टहरूमाथि गरेको कारबाहीको विवरण सार्वजनिक गरेको हो।

प्रतिवेदन अनुसार सन् २०२५ को चौथो त्रैमासिक अवधिमा नेपालमा मात्रै नीति उल्लङ्घन गरेका कुल १९ लाख ३२ हजार ५७५ वटा भिडियोहरू हटाइएका छन्। नेपालमा सक्रिय रूपमा कन्टेन्ट हटाउने दर ९९.९ प्रतिशत रहेको छ भने ९८.४ प्रतिशत भिडियोहरू पोस्ट भएको २४ घण्टाभित्रै हटाइएको कम्पनीले जनाएको छ।

विश्वव्यापी रूपमा यस अवधिमा १७ करोड ५३ लाख २ हजार ८५ वटा भिडियोहरू हटाइएका छन्, जुन प्लेटफर्ममा अपलोड गरिएका कुल कन्टेन्टको करिब ०.५ प्रतिशत हो। हटाइएका भिडियोहरूमध्ये १५ करोड २५ लाख ८० हजार ९३३ भिडियोहरू स्वचालित प्रविधिमार्फत पहिचान गरी हटाइएका हुन्।

यस्तै, प्लेटफर्मको विश्वसनीयता कायम राख्न सोही अवधिमा १४ करोड ७७ लाखभन्दा बढी नक्कली खाताहरू र १३ वर्षभन्दा कम उमेरका हुन सक्ने आशङ्का गरिएका २ करोड ३८ लाख ७५ हजारभन्दा बढी खाताहरू पनि हटाइएको प्रतिवेदनमा उल्लेख छ।

टिकटकका अनुसार एआई-आधारित 'मोडरेशन' प्रणालीमा गरिएको सुधारले गर्दा एक पटक पनि नहेरिएका भिडियोहरू हटाउने दरमा वृद्धि भएको छ। कम्पनीले अनुपयुक्त कमेन्टहरूलाई सिधै हटाउनुको सट्टा तिनीहरूको पहुँच घटाउने रणनीति समेत अपनाएको जनाएको छ।

हटााइएका भिडियोहरूमध्ये २१.२ प्रतिशत संवेदनशील वा वयस्क विषयवस्तुसँग सम्बन्धित थिए। यस्तै, ९.१ प्रतिशत सुरक्षा र सभ्यता, १.२ प्रतिशत गोपनीयता र सुरक्षा, १.६ प्रतिशत भ्रामक सूचना र १.८ प्रतिशत एआई-निर्मित सामग्रीका रूपमा फ्याग गरिएका कन्टेन्टहरू रहेका छन्। टिकटकले आफ्नो कन्टेन्ट नीति र सुरक्षा मापदण्डका बारेमा पारदर्शिता कायम राख्न नियमित रूपमा यस्ता प्रतिवेदनहरू सार्वजनिक गर्दै आएको छ।

वैशाख ४, २०८३ शुक्रबार १६:३१:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।