‘राम नाम सत्य : दाबी बाघको, अवस्था स्यालको
नेपाली फिल्मका कलाकारहरूलाई विभिन्न उपनाम दिने गरिन्छ। कोही सुपरस्टार, कोही नेपाली सिंघम त कोही एक्सन स्टार। त्यसमा अहिले बाघ अभिनेताको ट्याग पाएका अभिनेता तथा निर्देशक हुन् बिराज भट्ट।
सायद हस्की भोइसमा उनले गर्ने संवाद यो उपनामको कारण हुन सक्छ। उनको भोइस छ पनि त्यस्तै। तर फिल्म भनेको भोइस मात्र त पक्कै हैन। त्यसमा कथा, पटकथा, अभिनय, छायाङ्कन सबै पक्षको राम्रो मिश्रण भए मात्रै गतिलो फिल्म बन्न सक्छ।
नत्र त स्वर चैँ बाघको गर्जनको र पर्दामा चैँ स्याल पार देखिने जोखिम हुन्छ। माइकल चन्दले एक्सन जनराको निर्माण गरेको फिल्म ‘राम नाम सत्य’ को सबै पक्ष हेर्ने हो भने यो उपनाम भन्दा फरक देखिएन।
फिल्ममा बिराज गर्जिरहन्छन्। तर पानी नपार्ने बादल गर्जिए जस्तै देखिन्छ अभिनय पक्ष। एक्सन जनराको फिल्ममा जतिसक्दो हिंसात्मक दृश्य राख्ने हो, कथाको के मतलब भन्ने फन्टुस सोचबाट निर्माण टिम बढी नै प्रभावित भएर फिल्म निर्माण गरेको अनुभव हुन्छ हलमा।
फिल्म हेरिरहँदा लाग्छ एक्सन फिल्मको कथा भनेको तरबारले सयौँ गुन्डाको टाउको छेदन गर्नु त हो। बन्चरोले बिचमा चिरेको दृश्य राख्नु त कला हो। यही नै कथा हो।
अनि हल्का भारतको दक्षिण भारतीय फिल्महरू ‘मार्क एन्टोनी’,‘एनिमल’,केजिएफ’शैलीको एक्सन तानतुन पारेर जोडजाड गर्नु नै एक्सन जनराको नेपाली फिल्म निर्माण र निर्देशन गर्न सक्नु ठूलो खुबी हो।
अब लागौँ, कथावस्तुतर्फ,
फिल्ममा एउटा अनाथालयमा हुर्किएका सत्य (सुशील श्रेष्ठ) र दैलेखका बाबु साहेब (बिराज भट्ट)को कथा मिसाइएको छ। दैलेखमा बिराजको राज छ। अर्का छन् टाउके दादा (सुनिल थापा)। त्यहाँ पेट्रोलियम पदार्थ रहेको भन्दै त्यो उत्खनन् गरेर बेच्ने दाउमा छन् उनी। यही विषयमा यी दुईको द्वन्द्व सुरु हुन्छ जो अति हिंसात्मक बन्छ।
यता अर्को कथा जोडिएको छ, जहाँ राजकुमारी रुद्राणी (दिव्या रायमाझी)अनाथालयमा हुर्किएका सत्यसँग नजिकिन्छिन्। परिवारको समर्थन नभए पनि विवाह गर्छन्। त्यसले अर्को द्वन्द्व निम्त्याउँछ। फिल्म यस्तै यस्तै नै छ। यहाँ भन्दा बढी सार लेख्न कथा पनि हुनु पर्यो नि।
सबल पक्ष
यो फिल्ममा निर्देशकले नेपाली दर्शकलाई दक्षिण भारतीय फिल्मको तिर्सना मेटाउने प्रयास गरेका छन्। बिराज भट्टलाई द्वन्द्व निर्देशक श्री श्रेष्ठले एक्सनमा मिहेनत गराएका छन्।
फिल्मको अर्को सबल पक्ष भनेको गीत हो। तीन वटै गीत राम्रा छन्। अरू दर्शकले त्यति याद नगरेता पनि निर्देशक माइकल चन्दले फिल्ममा सम्झन लायक गीत ‘धागो बाटेको’,‘हुम्लाको लिमी’ र ‘जिन्दगीको नयाँ पाइला’बोलको मधुर गीतको प्रयोग गरेका छन्।
फिल्मको कलर ग्रेडिङमा मिहिनेत देखिन्छ। भिएफएक्स त्यति कमजोर देखिएको छैन। फिल्मलाई एक्सन जनरामा पावर प्याकेज बनाउने प्रयास भएको देखिन्छ।
कमजोर पक्ष
कथाले मागेको एक्सनसहितको फिल्मले मात्र एक्सन जनरालाई न्याय गर्न सक्छ। तर नेपालमा एक्सन फिल्ममा कथाले एक्सन माग्नै पर्दैन। जताततै ज्यानै सिरिङ हुने दृश्य राखिदियो, सक्कियो।
यो फिल्मको करिब दुई घण्टा उही बिराजको अनावश्यक हिंसात्मक दृश्य हेर्नु पर्छ हैन झेल्नु नै पर्छ। पहिलो हाफ त फिल्मको कथा के हो भन्ने नै बुझिन्न। हिंसात्मक द्वन्द्व हेर्दैमा फिल्मको पहिलो हाफ सकिन्छ।
दोस्रो हाफ सुरु भएपछि ए कथा त यो पो रहेछ भन्ने लाग्न सक्छ। तर कथा बुझ्न नसक्दै फिल्म सकिन्छ। फिल्मको निर्माण नै नसकिई अभिनेता सुनिल थापाको मृत्यु हुन्छ। त्यसको नकारात्मक प्रभाव डबिङमा अनुभव हुन्छ।
फिल्ममा अनावश्यक दृश्य र संवादहरू यति धेरै प्रयोग भएको छ कि त्यो गन्न अनि सम्झिन पनि सकिन्न। कति गन्ने?, कति सम्झने?
सुनदेखि पेट्रोलसम्मको तस्करीका विषय छोएको फिल्ममा सुन लुकाउन किलोका किलो सुन भैँसीलाई खुवाएको वाहियात दृश्यसमेत देखिन्छ। बिराजका केही डायलग पनि त्यस्तै कमेडीपाराको सुनिन्छ। तर संवाद एक्सनमा मिसाइएको छ। यसले उही बाघ भनेर हुत्याउँदा म्याउँ गरे जस्तै सुनिन्छ।
बिराज भट्ट नेपाली फिल्मको एक्सनका लागि नाम हैन ब्रान्ड हो पनि भनिन्छ। तर यो फिल्ममा जस्तै कथालाई पुरै बेवास्ता गरेर एक्सनको थुप्रो लगाउने हो भने बिराज एक्सनका लागि नाम हैन बदनाम हुन् भन्न बाध्य हुने वातावरण बन्न सक्छ।
एक्सनमा मिहिनेत नगरेको हैन, देखिन्छ। तर अर्थ न वर्थको एक्सनको के महत्त्व? एक्सन भन्दैमा कथै नचाहिने हो र भन्या?
ब्याकग्राउण्ड म्युजिक पनि अलि कर्कश सुनिन्छ। डायलग डेलिभरीमा पनि उस्तै समस्या देखिन्छ। फिल्मको स्क्रिनप्ले चौपट देखिन्छ।
कलाकार छनोटमा निर्देशक चन्दले कलाकारको क्षमता अनुसारको काम गराउन सकेको पनि देखिएन। यस फिल्ममा बिराज बाहेक सुशील श्रेष्ठ,सुपुष्पा भट्ट,दिव्या रायमाझीको भूमिका डमी जस्ता देखिन्छन्।
फिल्ममा उनीहरूको चरित्र अनुसार अभिनय खुलेको छैन। पोस्टर,टिजरमा टिकटकर आयुष सिंह ठकुरीलाई निकै हाइलाइट गरिएको छ। तर फिल्ममा उनको भूमिका झुलुक्क आउँछन् अनि हराउँछन्। उनलाई केमियोमा प्रयोग भएको छ। फिल्म हेर्दा यसको सिक्वेलका लागि आयुशको भाग लुकाएको अनुभव हुन्छ।
द्वन्द्व प्रधान फिल्म भन्दैमा स्क्रिनप्लेको कुनै स्थानै हुन्न भन्ने सोच घातक हो। यही घातक सोचबाट निर्देशक निर्देशित भएको देखियो।
नत्र उनले अहिले आएर ९० को दशकको प्लट बोकेर काटमारै काटमारले भरिएको यती कमजोर फिल्म पक्कै निर्देशन गर्ने थिएनन्। जुनसुकै जनराको फिल्म होस् त्यसमा कथा, पटकथा अनि पात्रहरूको चरित्र चित्रण र त्यही अनुसारको अभिनय त चाहियो नि।
यो फिल्म हेरेर मनमा उठेको प्रश्न ‘अहिलेको अवस्थामा यस्तो त्रिपट कथामा फिल्म बनाउने हिम्मत चैँ कहाँबाट आउँछ?’
बाघ भन्ने तर म्याउँ त गराउनु भएन नि हो!
वैशाख ३, २०८३ बिहीबार १९:१५:०२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।