लेखा समितिको सभापतिमा कांग्रेसका खड्काको मनोनयन दर्ता

लेखा समितिको सभापतिमा कांग्रेसका खड्काको मनोनयन दर्ता

काठमाडौं : प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिको सभापतिमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद भरतबहादुर खड्काले मनोनयन दर्ता गरेका छन्। डोटीबाट निर्वाचित सांसद खड्काले बिहीबार संसद् सचिवालयमा मनोनयन दर्ता गराएका हुन्।

खड्काको प्रस्तावकमा सांसद मोहन आचार्य र समर्थकमा सांसद जनकराज गिरी रहेका छन्। सार्वजनिक लेखा समितिको सभापति विपक्षी दललाई दिने संसदीय अभ्यास छ। उम्मेदवारी दर्तापछि सञ्चारकर्मीसँग खड्काले दलहरूबीच राजनीतिक समझदारी भइसकेकाले आफू निर्विरोध निर्वाचित हुने विश्वास व्यक्त गरे।

सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले लेखा समिति प्रतिपक्षीका लागि छोड्ने निर्णय गरेको छ। त्यस्तै, एमाले र नेपाली कम्युनिष्ट पार्टीले पनि लेखा समितिमा कांग्रेसलाई समर्थन गर्ने जनाएका छन्।

यसैबीच, अन्य दुई संसदीय समितिको नेतृत्वका लागि पनि फरक फरक दलबाट उम्मेदवारी दर्ता भएको छन्। एमालेले शिक्षा समितिको सभापतिमा गुरु बराललाई उम्मेदवार बनाएको छ। त्यस्तै, ‘राज्यको निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समिति’मा नेकपाका तर्फबाट मदनकुमारी शाह 'गरिमा' ले उम्मेदवारी दर्ता गराएकी छिन्।

वैशाख ३, २०८३ बिहीबार १६:४४:१७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।