सार्वजनिक लेखा समितिको सभापतिमा कांग्रेसबाट खड्का उम्मेदवार

सार्वजनिक लेखा समितिको सभापतिमा कांग्रेसबाट खड्का उम्मेदवार

काठमाडौं : नेपाली कांग्रेसले प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिको सभापतिमा सांसद भरतबहादुर खड्कालाई उम्मेदवार बनाउने भएको छ। 

सांसद भीष्मराज आङ्देम्बेका अनुसार खड्कालाई सभापतिको रूपमा अघि सारिएको छ। प्रतिनिधिसभाका संसदीय समितिका सभापतिको लागि बिहीबार मनोनयन दर्ताको कार्यक्रम छ भने निर्वाचन शुक्रबार हुनेछ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय परम्पराअनुसार सार्वजनिक लेखा समितिको सभापति प्रमुख प्रतिपक्षी दललाई दिने निर्णय गरिसकेको छ। यस्तै, एमाले र नेपाली कम्युनिष्ट पार्टीले पनि लेखा समिति सभापतिमा कांग्रेस उम्मेदवारलाई सहयोग गर्ने भएका छन्।

सार्वजनिक लेखा समितिमा कांग्रेसबाट खड्कासहित योगेश गौचन थकाली, मोहन आचार्य र जनकराज गिरी रहेका छन्। डोटीबाट निर्वाचित ६८ वर्षीय खड्काले नेविसंघबाट राजनीति सुरु गरेका थिए। उनी २०७० सालको दोस्रो संविधान सभाका सदस्य थिए। उनी २०७४ को निर्वाचनमा डोटी १ (१) बाट प्रदेश सभा सदस्यसमेत निर्वाचित भएका थिए।

वैशाख ३, २०८३ बिहीबार १४:५३:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।