एक महिनामै डिजेल ६७ र पेट्रोल ४० प्रतिशतले बढ्यो, सरकारी सहुलियत ‘हात्तीको मुखमा जीरा’

एक महिनामै डिजेल ६७ र पेट्रोल ४० प्रतिशतले बढ्यो, सरकारी सहुलियत ‘हात्तीको मुखमा जीरा’

काठमाडौं : अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य आकासिएसँगै नेपालमा इन्धनको भाउले नयाँ कीर्तिमान कायम गरेको छ।

नेपाल आयल निगमले सरकारको सहमतिमा पछिल्लो एक महिनामा पटक-पटक मूल्य वृद्धि गर्दा डिजेलमा ६७ र पेट्रोलमा ४० प्रतिशतसम्म मूल्य बढेको हो।

विशेष गरी अमेरिका-इजरायल गठबन्धन र इरानबीच सुरु भएको युद्धका कारण विश्व बजारमा कच्चा तेलको भाउ बढेपछि नेपाल जस्ता आयातकर्ता मुलुकमा यसको प्रत्यक्ष मार परेको छ।

निगमले बिहीबार बिहानदेखि लागू हुने गरी डिजेल र मट्टितेलमा प्रतिलिटर ३० रुपैयाँ वृद्धि गरेको छ। गत चैत १ गतेको तुलनामा यो वृद्धि ६७ प्रतिशत हो।

यसैगरी, पेट्रोलको मूल्यमा पनि करिब ४० प्रतिशतले वृद्धि भएको छ। चैत १ गते प्रतिलिटर १५७ रुपैयाँ रहेको पेट्रोलको मूल्य अहिले २१९ रुपैयाँ पुगेको छ। हवाई इन्धन (आन्तरिक) तर्फ पनि निगमले भारी वृद्धि गर्दै प्रतिलिटर २५६ रुपैयाँ पुर्याएको छ।

इन्धनको मूल्यवृद्धिको सीधा असर सर्वसाधारणको भान्सा र यात्रामा परेको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई भाडा समायोजन गरिसकेको छ, जसअनुसार काठमाडौं-धनगढीको हवाई भाडा अब २३ हजार ५९ रुपैयाँ पुगेको छ। यो साविकको तुलनामा ५ हजार ४३५ रुपैयाँको वृद्धि हो।

त्यस्तै, यातायात व्यवस्था विभागले पनि सार्वजनिक यातायातमा १६.७१ प्रतिशत र मालबाहक सवारीमा २१.६८ प्रतिशतसम्म भाडा बढाएको छ। यसले बजारमा महँगी अझै बढ्ने निश्चित देखिएको छ।

बढ्दो मूल्यको मार कम गर्न सरकारले पेट्रोलियम पदार्थमा लाग्दै आएको भन्सार शुल्क र पूर्वाधार विकास करमा ५० प्रतिशत कटौती गरेको छ।

यसले पेट्रोलमा १७ र डिजेलमा १२ रुपैयाँ सहुलियत मिले पनि अन्तर्राष्ट्रिय बजारको वृद्धिको तुलनामा यो ‘हात्तीको मुखमा जीरा’ जस्तै भएको भन्दै सर्वसाधारणबाट सरकारको तीव्र आलोचना भइरहेको छ।

अन्तर्राष्ट्रिय अभ्यास अनुसार सरकारले अझै प्रभावकारी हस्तक्षेप नगरे जनजीवन थप कष्टकर हुने देखिएको छ।

वैशाख ३, २०८३ बिहीबार १०:३३:०३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।