कक्षा ५ देखि १२ सम्मका विद्यार्थीका लागि नेपालमा ‘आईबीएम स्कुल कार्यक्रम’ सुरु
काठमाडौं : नेपाली विद्यार्थीलाई आर्टिफिसियल इन्टेलिजेन्स (एआई), ब्लकचेन र साइबर सुरक्षाजस्ता विश्वस्तरीय प्रविधि शिक्षा दिन नेपालमा औपचारिक रूपमा ‘आईबीएम स्कुल कार्यक्रम’ सुरु भएको छ।
एशियन ई-लर्निङ प्रा.लि.ले आईबीएमको आधिकारिक डेलिभरी पार्टनर ट्रान्सन्युरोन टेक्नोलोजिजसँगको साझेदारीमा कक्षा ५ देखि १२ सम्मका विद्यार्थीलाई लक्षित गर्दै यो कार्यक्रम भित्र्याएको हो।
यस कार्यक्रम सञ्चालनका लागि अप्रिल १३ मा सेन्ट जेभियर्स स्कुल (गोदावरी) र कसमस कलेज अफ म्यानेजमेन्ट एन्ड टेक्नोलोजीसँग औपचारिक सम्झौतासमेत सम्पन्न भइसकेको छ।
सामान्य पाठ्यक्रमभन्दा फरक रहेको यस कार्यक्रममार्फत विद्यार्थीले प्रविधिको व्यावहारिक ज्ञान पाउनुका साथै आफ्नै नयाँ आइडिया र उत्पादन (प्रोजेक्ट) विकास गर्न सक्नेछन्।
चरणबद्ध रूपमा सिकाइने यस कोर्स पूरा गरेपछि विद्यार्थीले अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाणपत्र पाउनेछन्। यसले परम्परागत शिक्षा र डिजिटल विश्वको आवश्यकताबीचको दूरी कम गर्दै विद्यार्थीलाई भविष्यको करियरका लागि तयार पार्ने कम्पनीले जनाएको छ।
वैशाख ३, २०८३ बिहीबार ०९:०८:४१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।