ठमेलको एलओडी विश्वका उत्कृष्ट १०० क्लबको सूचीमा ४०औं स्थानमा उक्लियो
काठमाडौं : काठमाडौंको ठमेलस्थित ‘एलओडी’ (लर्ड अफ दि ड्रिंक्स) क्लब विश्वका उत्कृष्ट १०० क्लबको सूचीमा ४०औं स्थानमा उक्लिएको छ।
बेलायतस्थित प्रतिष्ठित म्यागजिन ‘डिजे म्याग’ले सन् २०२६ का लागि सार्वजनिक गरेको उत्कृष्ट क्लबहरूको सूचीमा एलओडीले अघिल्लो वर्षभन्दा आफ्नो वरीयता सुधार गर्दै ४०औं स्थान ओगटेको हो।
डिजे म्यागले हरेक वर्ष अन्तर्राष्ट्रियस्तरका क्लबहरूबीच प्रतिस्पर्धा गराई उत्कृष्ट सय क्लबको सूची प्रकाशन गर्दै आएको छ। यस वर्षको छनोट प्रक्रियामा विश्वभरका पाँच सयभन्दा बढी क्लब सहभागी थिए।
एलओडी क्लबका निर्देशक भुपेन कुँवरले यो उपलब्धिलाई संस्थाको मात्र नभई सिंगो देशकै गौरवको विषय भएको बताएका छन्।
‘उत्कृष्ट सय क्लबको सूचीमा ४०औं स्थानमा पुग्नु क्लबको सफलता मात्र होइन, यसले नेपाललाई विश्वको रात्रिकालीन मनोरञ्जन र सांगीतिक उद्योगमा चिनाउने महत्त्वपूर्ण अवसर पनि दिएको छ,’ निर्देशक कुँवरले भने, ‘यसले अन्तर्राष्ट्रिय पर्यटक र क्लबप्रेमीहरूलाई नेपालतर्फ आकर्षित गर्दै समग्र पर्यटन उद्योगमै सकारात्मक प्रभाव पार्ने हाम्रो विश्वास छ।’
टिमवर्क, रचनात्मकता र उत्कृष्ट सेवाका कारण यो सफलता मिलेको बताउँदै कुँवरले यस उपलब्धिले क्लबिङ संस्कारलाई थप व्यवस्थित र सभ्य बनाउने जिम्मेवारी थपेको उल्लेख गरे। आगामी दिनमा क्लबलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार अझै विस्तार गर्दै लैजाने एलओडीको लक्ष्य छ।
पछिल्ला वर्षहरूमा एलओडीले उत्कृष्ट क्लबको सूचीमा लगातार आफ्नो स्तर सुधार गर्दै आएको छ। सन् २०२२ मा ५२औं स्थानमा रहेको यो क्लब २०२३ मा ४९औं, २०२४ मा ५०औं र सन् २०२५ मा ४४औं स्थानमा थियो। यसपटक थप चार स्थान माथि उक्लिँदै एलओडी ४०औं नम्बरमा पर्न सफल भएको हो।
वैशाख ३, २०८३ बिहीबार ०८:०६:०८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।