डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य वृद्धि, पेट्रोलको यथावत्
काठमाडौं : नेपाल आयल निगमले डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्यमा वृद्धि गरेको छ।
निगम सञ्चालक समितिको बैठकले बैशाख ३ गते बिहानदेखि लागू हुने गरी नयाँ मूल्य निर्धारण गरेको हो।
विज्ञप्ति अनुसार डिजेल र मट्टितेलमा प्रतिलिटर ३० रुपैयाँ र हवाई इन्धन (आन्तरिकतर्फ) मा प्रतिलिटर ५ रुपैयाँ वृद्धि गरिएको छ।
यद्यपि, पेट्रोलको मूल्य भने हाललाई यथावत् राखिएको निगमले जनाएको छ।
अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढिरहेको र इन्डियन आयल कर्पोरेसनबाट नयाँ खरिद मूल्य बढेर आएकाले मूल्य समायोजन गर्नुपरेको निगमको तर्क छ।
निगमका अनुसार यो मूल्य वृद्धिपछि पनि डिजेलमा प्रतिलिटर ९.१६ रुपैयाँ घाटा नै रहने देखिन्छ।
विगत १५ दिनमा मात्रै निगमलाई करिब ७ अर्ब ८१ करोड ६१ लाख रुपैयाँ घाटा भएको र अहिलेको समायोजनपछि पनि पाक्षिक रूपमा ५ अर्ब ७५ करोड घाटा हुने अनुमान गरिएको छ।
निगमले उपभोक्ताहरूलाई पेट्रोलियम पदार्थको प्रयोगमा मितव्ययिता अपनाउन समेत अनुरोध गरेको छ।
वैशाख ३, २०८३ बिहीबार ०७:०२:१० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।