सम्पत्ति शुद्धीकरण मुद्दामा व्यवसायी दीपक भट्ट पक्राउ
काठमाडौं : नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले व्यवसायी दीपक भट्टलाई पक्राउ गरेको छ। भट्टलाई सम्पत्ति शुद्धीकरणको विषयमा अनुसन्धान गर्न पक्राउ गरेको सिआइबीका सूचना अधिकारी शिवकुमार श्रेष्ठले उकेरालाई जानकारी दिए।
उनले भने, “हामीले थप अनुसन्धानको लागि उहाँलाई नियन्त्रणमा लिएका छौं। उहाँलाई सम्पत्ती शुद्धिकरण सम्बन्धी अनुसन्धान गर्न नियन्त्रणमा लिएका हौं”, उनले भने।
गम्भिर आर्थिक अपराधमा भट्ट संलग्न रहेको खुले पनि उनीबिरुद्ध छानबिन भएको थिएन। राष्ट्र बैंकले सम्पत्ती शुद्धीकरण विभागलाई अनुसन्धान गर्न भन्दै पत्रचार गरेको भएपनि राष्ट्र बैँकलाई नै अनुसन्धान गर्न भन्दै विभागले पत्र पठाएको थियो।
लामो समयदेखि राजनीतिक शक्तीलाई प्रभावित पारेर वित्तिय अपराध गर्दै आएको आरोप लागे पनि राजनीतिक पहुँचका कारण भट्टमाथिको अनुसन्धान रोकिएको थियो। तर फागुन २१ को निर्वाचनले ठूला मानिएका दल बढारिएपछि भने रास्वपाको सरकारले व्यवसायी भट्टको फाईल खोल्न ग्रिन सिग्नल दिएपछि प्रहरी सक्रिय भएको थियो।
सम्पत्ती शुद्धीकरण विभागले अनुसन्धान अगाडि बढाउन भन्दै बुधबार विदेश भाग्ने आशंकाको बीच उनको राहदानी कालोसूचीमा राख्न अध्यागमन विभागलाई पत्राचार गरेको थियो। विभागले सोमबारै उनको राहदानी कालोसूचीमा राखेको थियो।
चैत १९, २०८२ बिहीबार १५:१३:१८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।