“तापक्रम यसरी नै बढ्ने हो भने हिमालको देश भन्ने हाम्रो पहिचान नहुन पनि सक्छ”
अन्तर्राष्ट्रिय जल व्यवस्थापन संस्था (आइडब्लुएड्डआइ) मा शोधकर्ताको रूपमा कार्यरत सन्तोष नेपाल जलस्रोत र जलवायु परिवर्तनबारे अनुसन्धान गर्छन्। अन्तर्राष्ट्रिय पर्वतीय विकास केन्द्र (इसिमोड) मा ‘वाटर एन्ड क्लाइमेट स्पेसलिस्ट’ का जल विज्ञान तथा हिउँ–हिमनदीका विषयमा केन्द्रित रहेर काम गरेका थिए। त्यहाँ उनले जलवायु परिवर्तन र जलविज्ञान समूहको नेतृत्व गर्दै कोसी बेसिन इनीसियटिभ, क्लाइमेट सर्भिस, इन्डस बेसिन, कैलाश सेक्रेड ल्याण्डस्केप लगायतका परियोजनामा सक्रिय भूमिका निर्वाह गरे।
इसिमोड अगाडि उनी जर्मनीको युनिभर्सिटी अफ जेनामा भू-सूचना, जल विज्ञान र मोडलिङ सम्बन्धी काम गरेका नेपालले त्यही विश्वविद्यालयबाट पर्वतीय जल विज्ञान र मोडलिङ, जलवायु परिवर्तन तथा माथिल्लो-तल्लो क्षेत्रमा हुने पारस्परिक प्रभावको मूल्याङ्कन विषयमा पिएचडी पूरा गरे।
उनका दर्जन भन्दा बढी जर्नल लेखहरू प्रकाशित छन् । गुगल स्कलर अनुसार ७ हजार ६ सय भन्दा बढी उनका जर्नल लेखहरूको साइटेशन भइसकेका छन्। उनै नेपालसँग पानीको स्रोत, जलवायु परिवर्तनले पानीको स्रोतमा पारेको प्रभाव र नेपालले कसरी पानीको अभावलाई समाधान गर्न सक्छ भन्ने सन्दर्भमा प्रजु पन्तले लिएको अन्तर्वार्ता।
नेपालका पानीको मुख्य स्रोतहरू हिमाल हुन्। पछिल्ला समय हिमालहरू पग्लिँदै गए भनिन्छ। हिमाल पग्लनु अनि सुख्खा लाग्नु एकैपटक जस्तो भएको छ। नेपालको पानीको स्रोतको अवस्था कस्तो हो ?
नेपालका नदीनाला अधिकांश हिमालका स्रोतहरू हुन्। मध्य पहाडी क्षेत्रमा भने मूल फुटेर पानी आउँछन्। त्यसकारण मध्य पहाडी क्षेत्रका खोला वर्षायाममा मात्रै बग्ने पनि हुन्छन्। हिमालमा आश्रित नदीहरूमा धेरै जलविद्युत परियोजनाहरू छन्। त्यसकारण यसको छुट्टै महत्त्व छ। तथ्याङ्क हेर्ने हो भने तीन दशकमा २५ प्रतिशत ग्लेसियरको क्षेत्र घटेको देखिन्छ। यहाँ मात्रै होइन ग्लेसियरहरू संसारभर घट्दै गएको हो । केही दशक पानी धेरै पर्ने केही दशक पछि पानी नपर्ने पनि हुन सक्छ ।
ग्लेसियर पग्लनु जलवायु परिवर्तनको असर हो ?
हो। हिमाल पग्लनुको कारण पनि जलवायु परिवर्तन अनि तापक्रम वृद्धि नै प्रमुख कारण हुन्। तापक्रम वृद्धि भएपछि हिउँको थुप्रो बग्दै-बग्दै तल आउँछ, अनि ताल बन्छ। जसलाई हामी हिम ताल भन्छौँ। ती तालहरू बाढीका खतराहरू हुन्छन्। उदाहरणका लागि थामेमा तिनै तालहरू फुटेर बाढी गएको हो।
पेरिस सम्झौता अनुसार तापक्रमलाई १.५ डिग्रीमा राख्ने त भनिएको छ तर तर १.५ डिग्रीमै सीमित राख्दा पनि ३३ प्रतिशत ग्लेसियर कम हुने देखिन्छ। अहिलेकै रफ्तारमा कार्बन उत्सर्जन भयो भने यही शताब्दीको अन्त्यसम्म दुई तिहाइसम्म ग्लेसियर पग्लन सक्ने आँकलन गरिएको छ।
भनेपछि अहिले हामीले हिमालको देश भनेर चिनाइरहेका छौँ। भविष्यमा यो पहिचान नहुन पनि सक्छ ?
एकदमै। यस्तै हो भने भविष्यमा नेपाल हिमालको देश हो भन्ने पहिचान नहुन पनि सक्छ। हिमालय क्षेत्रका ग्लेसियर रित्तिन सक्छ। तापक्रम कम भयो भने हिमाल कम पग्लेला तर यही रफ्तारमा हेर्दा हिमाल धेरै पग्लने खतरा देखिन्छ।
ग्लेसियरको ह्रासले नदी प्रणालीमा कसरी असर पारेको छ ?
धेरै नै असर परिरहेको छ। तापक्रम वृद्धिले गर्दा जुन ठाउँमा हिउँ पर्थ्यो अहिले पानी पर्यो। माथिल्लो क्षेत्रमा हिम नदी र हिउँमा असर परेको छ। तुरुन्तै त्यसको प्रभाव पनि देखिएको छ। हिउँदको समयमा यो पग्लेर आउँछ। अनि नदी प्रणालीमा नकारात्मक असर परिहाल्छ।
यसले पानीको स्रोतमा कस्तो असर पार्छ त ?
पानीको स्रोतमा प्रत्यक्ष नै असर पर्छ। हिमाल सुक्दा ठूला नदीमा केही दशकमा नै पानी कम हुन्छ। पानी पर्ने समय फेरिँदै जान्छ। जसले गर्दा अनावृष्टि र अतिवृष्टि हुन्छ। पानीको स्रोत कम भएपछि जलविद्युत र कृषिलाई सिधै असर पार्छ। उपत्यकामा पानीको संकट टार्न मेलम्चीको पानी लिएर आएका छौँ। तर जलवायु परिवर्तन भएको अवस्थामा मेलम्चीकै पानीको मात्रा कम हुन सक्छ।
तराईमा देखिएको समस्या पनि जलवायु परिवर्तन नै हो ?
पहिलाका वर्षहरूमा सुख्खा वर्षमा २ पटक हुन्थ्यो भने अहिले ४ पटकसम्म हुने गरेको छ। यसरी हेर्ने हो भने तराईमा जस्तो असरहरू देखिइरहेका छन् यो जलवायु परिवर्तनकै जस्तै हुन्। तर ठ्याक्कै कारण भन्न विस्तृत अध्ययन आवश्यक पर्छ।
तर जलवायु परिवर्तनले विश्वव्यापी रूपमा पानीको स्रोतलाई असर पारिरहेको छ। त्यसैले पेरिस अग्रिमेन्टले कार्बन उत्सर्जन कम गर्न २०५० सम्ममा काम गर्ने भनेको छ। यस अनुरूप काम गर्न अनुकूलन क्षमता बढाउने हो। विकसित देशले कुनै बेला स्रोतको चरम दोहन गरेकाले कार्बन उत्सर्जन भएको र निम्न विकसित देशलाई जलवायु परिवर्तन वित्त दिने कुरा पनि छ। जलवायु परिवर्तनले अति कम विकसित देशहरूका महिला सीमान्तकृत समुदाय जनजाति र दलितहरूलाई धेरै असर परेको देखिन्छ। यसको लागि गरिब देशहरूले पनि दाबी गर्न सक्नु पर्छ।
‘क्लाइमेट फाइनान्स’मा दाबी गर्ने भन्न खोज्नु भएको कसरी ?
केही रकमहरू ल्याएर काम गरेको त देखिन्छ। जति ल्याउनु पर्ने हो त्यति ल्याएको देखिँदैन। संस्था बलियो छैन अनि भ्रष्टाचार पनि बढेको देखिन्छ। अनुकूलन क्षमता कसरी बढाउने भनेर काम हुनु पर्नेमा त्यसरी काम भएको देखिँदैन। ३ सय बिलियन डलर रकम दिने प्रतिबद्धता छ।
नेपालले ठूला विपत्ति बेहोर्दा पनि किन यस्तो सहयोग पाउन नसकेको हो?
यो रकम यसै आउने हैन, हामीले प्रस्ताव पेस गर्नु पर्छ। प्रस्ताव पेस गर्नु भन्दा अघि कृषि, जैविक विविधता, जलविद्युत अनि संरचनागत सुधार कसरी गर्छौँ भनेर पेस गर्नु पर्छ। यसमा नेपालले काम गरेको देखिँदैन। त्यसकारण क्लाइमेट फाइनान्सबाट नेपालले जति फाइदा लिनुपर्ने हो त्यति लिन सकेको देखिँदैन।
तपाईँहरूको अनुसन्धानमा जल सुरक्षा, ऊर्जा, र खाद्य नेक्सस देखाउनु भएको छ। यो अध्ययनबारे अलिकति भनिदिनु न।
जलवायु परिवर्तनले एक क्षेत्रलाई मात्रै असर गर्दैन। जल सुरक्षा, ऊर्जा र खाद्यसमेतमा असर गर्छ। हेर्दा तापक्रम बढेर गर्मी भएको जस्तो लाग्छ। तर त्यसको असर धेरै पर्छ। तापक्रम बढ्यो हिउँ पग्लियो, पानी पर्ने समय बदलियो, पानी नपर्ने स्थानमा पानी पर्न थाल्यो, बाढी आयो अनि हुँदाहुँदा सुख्खा नै हुन थाल्यो।
यसले त ऊर्जा क्षेत्र र खाद्यान्नलाई प्रस्टै रूपमा असर पार्ने भयो। त्यसकारण जहिले पनि जलवायु परिवर्तनका विषयमा सोच्दा होलिस्टिक अप्रोचमा सोच्नु पर्छ। खाद्यान्न, खानेपानी, ऊर्जा, जैविक विविधता सबै एकै ठाउँमा राखेर हेर्नु पर्छ। कुनै नदी सुक्दा कृषिदेखि ऊर्जासम्मका लगानी खेर जान सक्छ। त्यसकारण वैकल्पिक उपाय अपनाउन हामीले सुझाएका छौँ। जलवायु परिवर्तनका नेक्ससबारे विश्वविद्यालयमा पढाउनेदेखि सोही अनुसारको दक्ष जनशक्ति उत्पादनमा जोड दिनु पर्छ। सबै भन्दा पहिले जलवायु परिवर्तनको नेक्ससबारे गहिरो अध्ययन हुन जरुरी छ।
जल सुरक्षा भनेको चाहिँ के हो नि?
पानीलाई विशेष गरी दुई तरिकाले व्यवस्थापन गर्ने भनिन्छ। जस्तो जलस्रोतको संरक्षण र उपयोग। पानी संरक्षण गर्न स्थानीयको सहभागिता अनिवार्य हुनु पर्छ।
एउटा उदाहरण, दैलेख जिल्लामा खानेपानीको संरचनाहरू नाजुक छन्। पानीको स्रोत सीमित हुनु अनि प्रमुख स्रोत रहेको खोल्सा पनि जोखिममा रहनुले भविष्यमा पानीको समस्या हुने देखिन्छ। कुनै सानो घटना घट्यो भने त्यहाँ पानीको स्रोत सुक्न पनि सक्छ। त्यसकारण जलवायु उत्थानशीलतिर जानु पर्छ। एक मात्र पानीको स्रोत छ भने धेरै स्रोतहरू बनाउने, पानी ल्याउने जीविका चलाउने केही संरचना पनि बनाउने तर त्यसलाई संस्थागत नगर्दा पानीको दीर्घकालीन समस्या समाधानमा लाग्नु पर्छ।
तपाईँले कोशीको बारेमा पनि अध्ययन गर्नु भएको छ। कोशी नदी हाम्रो लागि अति महत्वपूर्ण छ। तर आडैमा कोशी बग्दा यसपालि तराइका खेतहरू बाँझो रह्यो। पानीको स्रोतको संरक्षण त भयो नै, उपयोग हामीले गर्न नसकेका हौँ ?
पानीलाई संरक्षण गर्ने र उपयोग गर्ने नै हो। पानीको संरक्षणमा काम नभएजस्तै हामीले उपयोग पनि गर्न सकेका छैनौँ। केही किलोमिटर पर ठूला नदीहरू बगिरहेका हुन्छन् तर हाम्रा खेत आकाशे पानीको भर पर्छन्। एक तिहाइ जमिन मात्रै सिचाई पुगेको छ। सिँचाइ संरचना हुन्थ्यो भने अहिले तराई यसरी सुख्खा हुँदैनथ्यो। तराईका केही जिल्लामा सिँचाइ छन् तर पहाडमा झन् कठिन छ। ‘इरिगेशन मास्टर प्लान’ भनेर काम सुरु नभएको हैन तर सुशासन र संस्थागत विकास नहुनाले पानीको उपयोग हुन सकेको छैन। यदि आकाशे पानीको भर नपर्नु पर्ने हो भने हाम्रा खेतहरूमा ३/४ बाली लगाउन सकिन्छ।
कोशी नदीबारे नै तपाईँले अध्ययन गर्नु भएकाले कोशी नदीको स्वरूप कस्तो हो? नदीले बाटो बदल्छ भन्छन् कसरी बदल्छ?
कर्णाली, गण्डकी, र कोशी नेपालका प्रमुख नदीहरू हुन्। त्यसमध्ये कोशीमा पानी मात्रै बग्दैन, गेग्रान पनि बग्छ। यो विश्वकै गेग्रान बग्ने नदीमध्ये एक हो। अन्तरिक्षबाट कोशी हेरियो भने एउटा पहाड आउँछ, बराह क्षेत्र चतरातिर पानी छाडेपछि सात नदी मिलेर एक बन्छ। यो ‘सी’ आकारको देखिन्छ। यो पश्चिम बगेर पूर्व आएको छ। तर कोशी नदी दुई सय वर्ष अघि सिधा बग्थ्यो। यो नदीमा गेग्रान बग्ने भएकाले आकार बदलिन्छ। कोशीमा एक सय एक टन बिलियन गेग्रान छ। जति तल आयो गेग्रान उति घट्दै जान्छ। भारतमा जाँदा घट्दै जान्छ।
पुराना तथ्याङ्क हेरियो भने पहिला नदीहरू बग्ने तरिका र अहिले नदी बग्ने तरिका नै बदलिएको छ। त्यसकारण बाढी नियन्त्रणको योजनामा पानी मात्रै होइन, गेग्रान पनि हेर्नु पर्छ। भूमिगत पानी पनि नाप्नु पर्छ। अध्ययन अनुसन्धान भइरहनु पर्छ।
सतही पानी, भरण गरेर राखिएको पानी अनि भूमिगत पानी हुन्छन् क्यारे। हाम्रो देशको भूमिगत पानीको अवस्था कस्तो हो ?
समग्रमा नेपालको भूमिगत पानीको अवस्था राम्रो नै छ। तर शहरी क्षेत्रमा भने धेरै दोहन भएको देखिन्छ। पहिले ३० फिट खने पनि पानी आउने ठाउँमा अहिले डिप बोरिङ गर्नु पर्ने अवस्था आउनु भनेको भूमिगत जलभण्डार नास भएको हो।
पानी निकालियो तर कङ्क्रिटले गर्दा अनि आकाशे पानीमा पनि समयमै नपर्दा पानी रिचार्ज भएन। काठमाडौँ उपत्यका जस्ता जिल्लामा अहिले भएको समस्या नै यही हो। नेपालभर भूमिगत पानी ८.८ बिलियन लिटर छ भनिन्छ। हामीले २२ प्रतिशत प्रयोग गरेका छौँ। घर बनाउँदादेखि ठूला-ठूला औद्योगिक क्षेत्रतिर अनि होटल लगायतमा धेरैजसो पानी भूमिगत नै निकाल्छन्। पानी निकाल्नु ठूलो कुरा हैन तर कति निकाल्ने र रिचार्ज कसरी जोगाउने भन्नेमा शहरी क्षेत्रमा काम हुनु पर्ने हो। त्यो भएको देखिँदैन।
काठमाडौँ उपत्यकाले परापूर्वकालमा खानेपानी व्यवस्थापन राजकुलो, हिति प्रणाली, पोखरी लगायतबाट व्यवस्थापन गरेको देखिन्छ। तीव्र शहरीकरण सँगै पुराना व्यवस्थापन नास भएर अहिले पानीको व्यवस्थापन जसरी भइरहेको छ त्यसमा सन्तुष्ट हुने ठाउँ छ?
काठमाडौँ उपत्यकामा हिमालबाट आएको नदी भन्दा पनि जङ्गलमा उम्रिएको पानीबाट खानेपानीको व्यवस्थापन गरेको देखिन्छ। ललितपुरले लेलेबाट राजकुलो हुँदै हितिप्रणाली, त्यस्तै काठमाडौँले बुढानीलकण्ठ अनि भक्तपुरले बागेश्वरी प्रणालीबाट पानीको वितरण गरेको थियो। पानीको वितरण दीर्घकालीन रूपमा गरेको देखिन्छ। अहिले काठमाडौँमा मेलम्ची, भूमिगत पानी लगायतबाट व्यवस्थापन गरेको देखिन्छ। तर दोहन अति छ। जनसंख्या यही रफ्तारमा बढ्ने हो भने र नीति पनि नबनाउने हो भने काठमाडौं उपत्यका काकाकुल हुन सक्ने जोखिम देखिन्छ।
पानीको उपयोगको कुरा गर्दा, ब्रिटिस पत्रकार टिम मार्सलले पानी भूराजनीतिले प्रत्यक्ष असर पार्ने बताउँछन्। हाम्रा देशका पानीमा पनि भू-राजनीतिले प्रत्यक्ष असर पारेर उपयोगमा समस्या भएको देखिन्छ यसलाई कसरी हेर्नु हुन्छ?
पानी बगेरै जाने हो। हामीले हेर्ने भनेको जल संरक्षणमा हो। स्रोत संरक्षण गरिएन भने पानीको हाहाकार हुन्छ। पानी त आधारभूत कुरा हो। खानेपानी ९० प्रतिशत भन्दा बढिले पाएको भनिन्छ तर २५ प्रतिशत मात्रै सुरक्षित छन्। पानी ऊर्जाको समेत स्रोत भएकाले भू-राजनीतिक रूपमा चासोको विषय हुन सक्छ तर हामीले हाम्रो फाइदा हेर्नु पर्छ न की अर्काको। आफ्नो माग कति हो, स्रोतको अवस्था के छ र कसरी वितरण गर्ने भन्नेमा ध्यान दिन जरुरी छ। भू- राजनीति चासो हुन्छ। तर हामीले आफ्नो क्षमता बिस्तार गर्नु पर्छ। हामीले आफू बलियो नबन्ने अनि अरूलाई दोष दिने गर्नु हुन्न।
अन्त्यमा पानी खोलामा बगेको देखिन्छ। पानी खान पनि नपुग्ने, खेती पनि लगाउन नसकिने। के मा तादम्यता नमिलेको हो ?
सुरुमै भनेको थिएँ , पानी उपयोगमा पूर्वाधार त बनाउने तर संस्थागत नगर्ने समस्याका कारण पानीको उपयोगमा समस्या देखिएको हो। पानीको नेक्सस धेरैतिर जोडिएको हुन्छ। सरकारले नीति र काम दुवै गर्नु पर्यो। सुशासन अनि संस्थागत विकास पनि चाहियो।
कृषिमा कति पानी आवश्यकता हो ? १२ महिनै सिँचाइ पुर्याउन कति पानी चाहिन्छ, १२ महिना सिँचाइ पुर्याउँदा हुने फाइदा अनि कति ऊर्जा निकाल्न सकिने हो अनि त्यसपछि खानेपानी शतप्रतिशत सुरक्षित कसरी बनाउने भनेर खाका बनाउनु पर्छ। त्यसपछि सोही अनुसार काम गर्दै जाने हो भने व्यवस्थापन र उपयोग गर्न सकिन्छ। तर पानी खोलामा बग्छ, किसान आकाश हेर्नु पर्ने बाध्यतामा छन्। पानीको स्रोत त छन् तर खानेपानी समेत धारो कहिले आउला भनेर भाँडो थाप्न लाइन बस्नु पर्ने अवस्था छ। यो भनेको त हामीमा काम गर्ने मिसन नै नभएको हो की।
सम्बन्धित समाचार
मंसिर १३, २०८३ आइतबार १३:४५:०२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।