भोटेकोशी बाढीले सुन्दरीजलको कौसीमा खुम्चिएको हाकुबेसी स्कुल : न विद्यार्थीमा त्रास मेटियो, न सरकारकै नजर पर्यो
काठमाडौं : संघीय राजधानीको सुन्दरीजलस्थित एक घरको कौसीमा बालबालिकाहरू झुम्मिएर कापीमा चित्र कोरिरहेका छन्। छेवैमा रहेका शिक्षकहरू उनीहरूलाई हँसाउने र खेलाउने कोसिसमा छन्।
बाहिरबाट झट्ट हेर्दा यो दृश्य नजिकैको कुनै सामुदायिक विद्यालयको अतिरिक्त क्रियाकलापजस्तो देखिन्छ। तर, यी कलिला बालबालिकाको मनभित्र भने गत भदौ १० गते भोगेको भयानक प्राकृतिक विपत्तिको कहालीलाग्दो घाउ छ।
यी बालबालिका र शिक्षकहरू न काठमाडौंका स्थानीय हुन्, न त कुनै शैक्षिक भ्रमणमै यहाँ आइपुगेका हुन्। उनीहरू रसुवाको आमाछोदिङमो गाउँपालिका-१ स्थित हाकुबेसी आधारभूत विद्यालयका विद्यार्थी, शिक्षक र कर्मचारी हुन्। गत भदौ १० गतेको भीषण बाढीले सिङ्गो गाउँ नै विस्थापित गरेपछि ज्यान जोगाउन शरण खोज्दै काठमाडौं आइपुगेका।
विद्यालयका ६८ जना विद्यार्थी र उनीहरूका अभिभावकसहित सिङ्गो गाउँ नै यहाँ आइपुगेपछि विद्यालयको दैनिक कामकाज पनि यही कौसीबाटै चलाउनुपर्ने बाध्यता बनेको छ।

व्यक्तिगत प्रयासमा जुटाइएको अस्थायी आश्रयस्थलमा भेटिएका यी बालबालिका अहिले सुरक्षित त छन्, तर उनीहरूका आँखामा त्यस दिन उर्लिएको बाढी र खसेको पहाडको त्रास अझै मेटिएको छैन।
पहाडको खुला आकाशमुनि पढिरहेका उनीहरू ज्यान जोगाएर राजधानी छिरेपछि अहिले कौसीको साँघुरो घेरामा आफ्नो भविष्य खोज्न बाध्य छन्।
“पहिले पढेका सामान्य कुरा पनि नानीबाबुहरूले बिर्सिन थालेका छन्। उनीहरू अझै पनि डराइरहेका छन्। यस्तो अवस्थामा नयाँ कुरा सिकाउन हामीलाई पनि अप्ठ्यारो भइरहेको छ। त्यसैले उनीहरूसँगै बस्ने, चित्र कोर्न लगाउने गरेर दिन बिताइरहेका छौँ,” बाढीपछि विद्यार्थीसँगै यहाँ आइपुगेकी शिक्षिका पार्वती पौडेल भन्छिन्, “यस्तो विपत्तिबाट पनि बाँचियो, ठूलो भाग्य रहेछ जस्तो लाग्छ।”
ज्यान जोगाउन डाँडातर्फ भागेका ती कलिला पाइलाहरू
भदौ १० गतेको त्यो बिहान पनि सधैँ झैँ सामान्य थियो। विद्यालयको होस्टेलमा रहेका ३० जना बालबालिका खाना खाएर नियमित कक्षाको तयारी गर्दै थिए। शिक्षक-कर्मचारी पनि खाना खाएर विद्यालय जान ठिक्क परेका थिए।
अचानक एउटा सानो विद्यार्थी चिच्यायो- “बाढी आयो! बाढी आयो!” सबैले झ्यालबाट बाहिर हेर्दा पहाड नै खसेकोजसरी त्रिशूली नदी उर्लिएको थियो।

“बाढी आयो भनेपछि सबै आत्तिए। हामीले पहिला बालबालिकालाई माथितिर दौडायौँ र हामी उनीहरूकै पछिपछि गयौँ,” बझाङबाट डेढ वर्षअघि हाइड्रो दरबन्दीमा रसुवा पुगेकी शिक्षिका अञ्जना कठायतले सम्झिइन्, “गाउँका नानीबाबुहरू उकालो-ओरालो हिँड्न निकै सिपालु छन्। उनीहरूले एकअर्काको हात समातेर माथि डाँडातिर भागे। त्यसपछि सबैभन्दा माथिल्लो भेगमा रहेको विद्यालयमा पुगेर हामीले ज्यान जोगाउँदै रात काट्यौँ।”
त्यो बाढीले करिब आधा घण्टामै धेरै कुरा बगाइसकेको थियो। तर, गाउँमा पहिरो जाने र ढुङ्गा खस्ने क्रम रोकिएन। उनीहरू जति-जति माथि उक्लँदै थिए, त्रासले उति नै घेर्दै थियो। सुरक्षित ठाउँ भनिएको त्यो विद्यालयमा पुग्दा गाउँभरिका मानिसहरू भेला भइसकेका थिए र सबैतिर रुवाबासी चलिरहेको थियो।
मुसलधारे पानी परिरहेको थियो, कसैसँग टेलिफोन सम्पर्क थिएन।
“त्यस दिन हामी सबै भोकै पर्यौँ। नानीबाबुहरू केही नखाएर हामीसँगै टाँसिएर बसिरहे। दुई-तीन दिनपछि बल्ल खाना खोज्न तल झर्ने र फेरि भागेर माथि जाने गर्यौँ,” अगाडिका साना विद्यार्थीलाई हेर्दै अञ्जनाले भनिन्, “त्यो दिन सम्झिँदा अहिले पनि आङ सिरिङ्ग हुन्छ।”
बाढीपछि काठमाडौं आइपुगेकी अञ्जना अहिलेसम्म आफ्नो घर बझाङ फर्कन पाएकी छैनन्। बाढीका बेला सम्पर्कविहीन भएपछि उनको परिवारले सामाजिक सञ्जालमा ‘सम्पर्कविहीन’ भन्दै फोटो देखेर निकै आत्तिएको थियो।
पछि सम्पर्क भएपछि मात्र परिवार ढुक्क भयो। गाउँपालिकाका सामुदायिक विद्यालयहरूमा जलविद्युत् आयोजना (हाइड्रो) को दरबन्दीमा राखिएका शिक्षकमध्ये उनी पनि एक हुन्। अब यहाँको अवस्था केही सहज भएपछि उनी घर फर्किन चाहन्छिन्।

सुरुङ र पहिरोको दोहोरो चपेटा
आमाछोदिङमो गाउँपालिकाको यो बस्तीमुनि हाइड्रोपावरका सुरुङहरू खनिएका छन्। खोलाको बाँधदेखि गाउँको माथिल्लो भेगसम्मै जमिनमुनि सुरुङ छेडिएको स्थानीय बताउँछन्।
यसपटकको बाढी सुरुङभित्र पसेपछि कतै सुरुङ नै विस्फोट भएर बस्ती भासिने हो कि भन्ने डरले गाउँलेलाई झनै त्रसित बनायो। विद्यालयकै आँगन पहिरोले बगाइदिएपछि त्यहाँ फर्कने हिम्मत कसैले गरेनन्।
त्यसपछि गाउँलेहरू हेलिकप्टर र हिँडेर धुन्चे गएर काठमाडौं आउन थाले। बाँकी रहेकाहरू पनि घर र खेतबारीमा ठूलठूला चिरा परेको देखेपछि गाउँ छाडे। विस्तारै ५६ घरधुरी रहेको गाउँका करिब दुई सय बासिन्दा काठमाडौं आइपुगेका छन् भने बाँकी विस्थापित पनि आउने क्रममा छन्।
हाकुबेसीका लागि बाढी, पहिरो र विस्थापन नयाँ भने होइन। २०७२ सालको विनाशकारी भूकम्प होस् वा त्यसपछिका बर्खा, यो बस्ती सधैँ जोखिममै रह्यो। भूकम्पका बेला पनि सिङ्गो गाउँ विस्थापित भएर लामो समय धुन्चेमा बसेको थियो। पछि जोखिम कम भएको ठानेर उनीहरू थातथलो फर्किएका थिए।
तर, यसपालिको विपत्तिले भने उनीहरूको मनमा गहिरो त्रास परेको छ। अहिले यहाँ आएका कोही पनि गाउँ फर्कन चाहँदैनन्। बाढीको वितण्डा प्रत्यक्ष देखेका बालबालिकाहरू ‘हाकु गयो भने खोलाले बगाउँछ’ भन्दै गाउँको नाम लिनसमेत डराउँछन्।
“पोहोर पनि बाढी आएको थियो, तर यसपालिको विपत्ति अगाडि ती सबै निकै साना थिए,” शिक्षिका पार्वती भन्छिन्। उनी रसुवाकै स्थानीय भए पनि विद्यालयका बालबालिकालाई सहारा दिन काठमाडौं आएकी हुन्। प्रेसर र थाइराइडकी बिरामी उनलाई विद्यालयका प्रधानाध्यापकले नै बालबालिकाको हेरचाहका लागि काठमाडौं बोलाएका थिए।

काठमाडौंमा छरिएर रहेका गाउँलेलाई सुन्दरीजलमा एकीकृत रूपमा राख्ने काम विद्यालयका प्रधानाध्यापक कार्बो तामाङले गरिरहेका छन्। उनी बाँकी गाउँलेलाई काठमाडौं ल्याउन यातायातको व्यवस्था मिलाउन फेरि रसुवा नै पुगेका छन्।
स्थायी व्यवस्थापनको अन्योल
सुन्दरीजलको यो आश्रयस्थलमा दूधेबालकदेखि किशोरकिशोरीसम्म छन्। तीमध्ये कतिपयले आमाबुबा दुवै गुमाएका छन् भने कतिपयले कुनै एक अभिभावक गुमाएका बालबालिका छन्।
विपत्ति भोगेको एक महिनाभन्दा बढी बितिसक्दा पनि सरकारी निकायबाट सामान्य तथ्याङ्क सङ्कलन गर्न समेत त्यहाँ नपुगेको विस्थापितहरूको गुनासो छ। त्यहाँ रहेका बालबालिका र विस्थापितहरूले कुनै मनोपरामर्श पाएका छैनन्।
अहिले उनीहरूको दैनिकी मनकारी व्यक्ति र गैरसरकारी संस्थाको राहतमा टिकेको छ। दाताहरूले दिएका केही कापी र कलमको भरमा बालबालिकाहरू कौसीमा बसेर पढिरहेका छन्। एउटै कोठामा १५ जनासम्म कोच्चिएर बस्नुपर्ने बाध्यता छ। ठाउँ अभाव भएपछि यहाँका १६ जना बालबालिकालाई ललितपुरको ठेचो पुर्याइएको छ।
“हामी त बाढीबाट जसोतसो ज्यान जोगाएर आयौँ,” शिक्षिका पार्वती भन्छिन्, “सबै गुमाएर, डराएर शरण लिन आएका नागरिकलाई सरकारले जतिसक्दो चाँडो स्थायी व्यवस्थापन गरिदेओस्। छिटोभन्दा छिटो हाम्रोबारे सोचेर हामीलाई अझै अलपत्र नपारिदिन सरकारसँग हाम्रो आग्रह छ।”
असोज २६, २०८३ सोमबार १०:२३:१० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।