जीवनरक्षाको माग गर्दै मानव अधिकार आयोगमा इनमको निवेदन, गगन थापालगायतविरुद्ध बयान दिन दबाब दिएको दाबी
काठमाडौं : प्रहरीले विमानस्थलबाट आफूलाई नियन्त्रणमा लिई अज्ञात स्थलमा कालो पट्टी बाँधेर राखेको तथा पूर्व प्रधानन्यायाधीश, राजनीतिक नेतृत्व र व्यवसायीविरुद्ध बयान दिन दबाब दिइएको आरोप लगाउँदै इनाम सापकोटाले जीवन रक्षाका लागि राष्ट्रिय मानव अधिकार आयोगमा निवेदन दिएका छन्।
बिचौलियाको आरोपमा प्रहरी हिरासतमा रहेका इनामको तर्फबाट शुक्रबार उनकी पत्नी कविता पाण्डेले आयोगमा निवेदन दिएकी हुन्। दर्ता गरेको निवेदनमा अडियो चुहावट तथा झुट्टा प्रमाण सिर्जनामा संलग्नमाथि अनुसन्धान र कारबाही सिफारिसको माग गरिएको छ।
अध्ययन तथा व्यावसायिक कार्यका लागि असोज १४ गते भारतको नयाँदिल्ली जान घरबाट हिँडेका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले नियन्त्रणमा लिएको निवेदनमा उल्लेख छ।
साथमा रहेका दुई वटा मोबाइल फोन खोसी गाडीमा राखेर आँखामा पट्टी लगाएर असोज १४ देखि १५ गते साँझसम्म अज्ञात स्थलमा कालो पट्टी लगाएरै राखिएको दाबी गरिएको छ। निवेदनमा आफूलाई धम्की दिएर विभिन्न उच्चपदस्थ व्यक्तिविरुद्ध बयान दिन बाध्य पारेको समेत उल्लेख छ।
निवेदनमा लेखिएको छ, "सोधपुछको क्रममा तिम्रो विरुद्ध हाम्रो व्यक्तिगत केही छैन भन्दै पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, उनका भाइ तथा छोरा, कांग्रेस सभापति गगन थापा, कांग्रेसका नेता तथा व्यवसायी उमेश श्रेष्ठ, भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, हिमालय होटलका नवीन तुलाधर, सर्वोच्च अदालतमा कार्यरत केही श्रीमान्हरूविरुद्ध प्रमाण र बयान दिए छाडिदिने, नत्र म मात्र होइन, मेरो परिवारसमेतलाई नराम्रो हुन्छ भनी धम्की दिइयो।"
सोधपुछका क्रममा आफूले गैरकानुनी कार्य नगरेको र फोन सम्पर्ककै भरमा अरूविरुद्ध बोल्न नसक्ने बताउँदा मानसिक यातना दिइएको, फकाउने-तर्साउने काम गरिएको र आँखाको पट्टी एकातिर माथि सारी पहिले नै लेखिएको कागज ठुलो स्वरमा पढ्न लगाइएको इनमको भनाइ छ। तर, आफूलाई थाहा नै नभएका झुट्टा कुरामा दस्तखत गर्न इन्कार गरेपछि पुनः आँखामा पट्टी र त्यसमाथि अर्को चश्मा लगाई असोज १५ गते साँझ जिल्ला प्रहरी परिसर भद्रकाली ल्याएर खल्तीमा २ वटा कागज हालेर थुनामा राखिएको निवेदनमा दाबी गरिएको छ।
मंसिर ११, २०८३ शुक्रबार २०:००:२१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।