घुस लिएको भिडियो सार्वजनिक भएपछि बाँकेका दुई ट्राफिक प्रहरी जवान निलम्बित
काठमाडौं : ड्युटीमा रहेका बेलामा घुस लिएको भिडियो सार्वजनिक भएपछि बाँकेमा कार्यरत दुई जना ट्राफिक प्रहरी जवान निलम्बनमा परेका छन्।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलले जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँके मातहत कार्यरत दुई प्रहरी जवानलाई मङ्सिर ११ गतेदेखि लागू हुने गरी निलम्बन गरेको हो।
निलम्बनमा पर्नेहरूमा अस्थायी ट्राफिक प्रहरी पोष्ट धनौलीमा कार्यरत प्रहरी जवान श्रीषराम थारु र अस्थायी ट्राफिक प्रहरी पोष्ट नेपालगन्जमा कार्यरत प्रहरी जवान टोपबहादुर खड्का रहेका छन्।
गत मङ्सिर ८ गते ट्राफिक प्रहरीको पोसाकमै ड्युटीमा खटिएको बेलामा उनीहरूले सेवाग्राहीसँग घुस लिएको दृश्य कैद भएको भिडियो सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको थियो। सार्वजनिक भिडियोप्रति कार्यालयको ध्यानाकर्षण भएको प्रवक्ता प्रहरी नायब उपरीक्षक मोहनजंग बुढथापाले जनाएका छन्।
उनीहरूलाई प्रहरी नियमावली २०७१ (संशोधनसहित) बमोजिम निलम्बन गरेर घटनाबारे थप अनुसन्धान अघि बढाइएको बुढथापाले जानकारी दिए।
मंसिर १२, २०८३ शनिबार २०:३६:२१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।