एनपिएलको चौथो संस्करणलाई लक्षित गरेर गौतमबुद्ध क्रिकेट रङ्गशाला तयार पार्न निर्देशन

एनपिएलको चौथो संस्करणलाई लक्षित गरेर गौतमबुद्ध क्रिकेट रङ्गशाला तयार पार्न निर्देशन
फाइल तस्बिर

चितवन : नेपाल प्रिमियर लिग (एनपिएल)को चौथो संस्करणका खेलहरू सञ्चालन गर्नसक्ने गरी गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालालाई तयार पार्न निर्माण तथा व्यवस्थापनका कामलाई तीव्रता दिन निर्देशन दिइएको छ।

शनिबार चितवनस्थित निर्माणाधीन रङ्गशालाको स्थलगत निरीक्षणको क्रममा पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले बाँकी निर्माणलाई गति दिन र आवश्यक पूर्वाधार थप गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका हुन्। 

उनले फ्लडलाइट जडान, दर्शक सिट तथा फर्निसिङका लागि लागत अनुमान तयार गरी प्रक्रिया अघि बढाउन भवन विभागसँग समन्वय गर्न निर्देशन दिए। 

रङ्गशालाको बाँकी कामका लागि सानो विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भइसकेको जनाउँदै उनले आवश्यक प्रक्रिया पूरा गरी दुई-तीन महिनाभित्र काम सम्पन्न गर्ने लक्ष्यका साथ अघि बढ्नुपर्ने बताए। त्यसपछि तत्काल टेन्डर प्रक्रिया अघि बढाउन सकिने उनको भनाइ थियो।

रङ्गशालामा ‘फ्लडलाइट’ जडानलाई प्राथमिकतामा राखिएको जनाउँदै लम्सालले आगामी एनपिएलका खेलसमेत यहाँ सञ्चालन गर्न सकिने सम्भावना रहेको बताए। चौथो संस्करण ‘होम-अवे फम्र्याट’ मा सञ्चालन गर्ने वा पोखरा र चितवनलगायत मैदान प्रयोग गर्ने विषयमा नेपाल क्रिकेट सङ्घ (क्यान) ले निर्णय गरे गौतमबुद्ध रङ्गशालामा पनि खेल सञ्चालन गर्न सकिने उनको भनाइ थियो।

गौतमबुद्ध रङ्गशालामा एनपिएलको चौथो संस्करणमै खेल सञ्चालन गर्न सकिनेमा लम्साल आशावादी देखिए। आगामी एनपिएलमा गौतमबुद्ध रङ्गशालामा खेल हुने वा नहुने विषय क्यानको निर्णयमा निर्भर रहने लम्सालले स्पष्ट पारे। प्रतियोगिताका खेल विभिन्न मैदानमा विकेन्द्रित गरी तीन-चार वटा मैदान प्रयोग गर्ने निर्णय भए चितवनमा पनि खेल सञ्चालन हुनसक्ने उनको भनाइ थियो।

रङ्गशालाको बाँकी निर्माण तथा व्यवस्थापनका काम अघि बढाउने, फ्लडलाइट जडानका लागि लागत अनुमान तयार गर्ने र आवश्यक प्रक्रिया पूरा गरी टेन्डरमा जाने विषय निरीक्षणका क्रममा प्राथमिकतामा परेको छ।

मंसिर १२, २०८३ शनिबार १९:०२:०१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।