प्रहरीले धम्क्याएर गगन र चोलेन्द्रविरुद्ध बोल्न लगाएको इनमको दाबी
काठमाडौं : सम्पत्ति शुद्धीकरणको अनुसन्धानका लागि प्रहरी हिरासतमा रहेका इनम सापकोटाले प्रहरीले आँखामा कालो पट्टी बाँधेर आफूलाई जवर्जस्ती पूर्व प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा,गगन थापा लगायत विरुद्ध बयान दिन बाध्य बनाएको दाबी गरेका छन्।
राष्ट्रिय मानव अधिकार आयोगमा उनको तर्फबाट श्रीमतीले शुक्रवार दिएको निवेदनमा उनले दुई वटा मोबाइल फोन खोसेर प्रहरीले गाडीमा राखेर आँखामा पट्टी लगाएको र अज्ञातस्थलहरुमा लगेर कालो पट्टी लगाएरै राखिएको दाबी समेत गरेका छन्।
चोलेन्द्रको पक्राउपछि विमानस्थल जानेक्रममा विशेष ब्युरोको टोलीले इनमलाई नियन्त्रणमा लिएको थियो। पहिला विशेष ब्युरोले अनुसन्धान गरेर पछि उनलाई अभद्र कसुरमा जिल्ला प्रहरी कार्यालय काठमाडौंको हिरासतमा राखिएको थियो।
पछि प्रहरीले उनको साथबाट बरामद भएको विदेशी मुद्राको आधारमा सम्पत्ति शुद्धीकरणमा अनुसन्धान गर्न अदालतबाट अनुमति लिएको थियो। इनम प्रहरी हिरासतमै रहँदा उनको मोबाइलबाट बरामद भएको दाबी गर्दै तत्कालीन प्रहरी महानिरीक्षक दानबहादुर कार्कीसहितसँगको सम्पर्क विवरण बाहिरिएको थियो।
प्रहरीलाई दिएको बयान दाबी गर्दै नेपाली कांग्रेसको आधिकारिकता लिन गगनले १८ करोड खर्च गरेको अडियो समेत सार्वजनिक भएको थियो। उनले आयोगमा दिएको निवेदनमा यी सबै काम करकापमा गर्न बाध्य बनाएको दाबी गरेका छन्।
उनले आफूलाई प्रहरीले धम्की दिएर विभिन्न उच्चपदस्थ व्यक्तिविरुद्ध बयान दिन बाध्य पारेको दाबी समेत गरेका छन्। सोधपुछको क्रममा तिम्रो विरुद्ध हाम्रो व्यक्तिगत केही छैन भन्दै पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर, कांग्रेस सभापति गगन थापा, कांग्रेसका नेता तथा व्यवसायी उमेश श्रेष्ठ, भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, हिमालय होटेलका नवीन तुलाधर, सर्वोच्च अदालतमा कार्यरत केही श्रीमानहरु विरुद्ध प्रमाण र बयान दिए छाडिदिने भनेर धम्क्याएको दाबी गरेका छन्।
आफूले कुनै गैरकानुनी काम नगरेको र अरू विरुद्ध बोल्न नसक्ने बताउँदा मानसिक यातना दिइएको, तर्साउने काम गरिएको र आँखाको पट्टी एकातिर माथि सारेर कागजमा पहिला नै लेखिएको विषय आफूलाई ठूलो स्वरमा पढ्न लगाएको उनको दाबी छ।
मंसिर ११, २०८३ शुक्रबार २०:५९:४३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।