आगामी तीन दिनभित्र देशभर मनसुन फैलिने, कोशीमा धेरै पानी पर्न सक्ने, मधेसमा हुरीको जोखिम
काठमाडौँ : देशको पूर्वी र मध्य भागमा सक्रिय रहेको मनसुन आगामी तीनदेखि चार दिनभित्र देशभर विस्तार हुने भएको छ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, मधेस, बागमती, गण्डकीको केही भाग र लुम्बिनी प्रदेशको पूर्वी क्षेत्रसम्म मनसुन फैलिसकेको छ भने बाँकी भूभागमा पश्चिमी र स्थानीय वायुको प्रभाव छ।
अहिले कोशी, बागमती र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ। सुदूरपश्चिमको तराई क्षेत्र बाहेक देशका अन्य भागमा आंशिक बदली रहेको महाशाखाले जनाएको छ।
आइतबार दिउँसो देशभर साधारणतया बदली रहनेछ। देशका पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ।
यस्तै, तराईका पनि केही स्थानमा चट्याङसहित मध्यम वर्षा हुने अनुमान छ। दिउँसो कोशी प्रदेशका पहाडी र तराई क्षेत्रका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको भन्दै महाशाखाले सचेत गराएको छ। कोशीको तराई र मधेस प्रदेशका केही स्थानमा दिउँसो हुरी चल्ने सम्भावना छ।
आइतबार राति कोशी प्रदेशमा मौसम थप प्रतिकूल बन्ने देखिएको छ। कोशी प्रदेशका धेरै स्थानमा वर्षा हुनेछ भने पहाडी तथा तराई भेगका केही स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ। यस्तै, मधेस प्रदेशका एक-दुई स्थानमा पनि भारी वर्षा हुन सक्ने पूर्वानुमान छ।
राति बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराईका केही स्थान र कर्णाली र सुदूरपश्चिमका पहाडी क्षेत्रमा मेघगर्जनसहित मध्यम वर्षा र हिमपातको सम्भावना छ।
तराईमा हुरीबतासको जोखिम
वर्षासँगै आइतबार राति देशका विभिन्न क्षेत्रमा तीव्र गतिको हावाहुरी चल्ने सम्भावना छ। महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई क्षेत्र तथा मधेस प्रदेशका केही स्थानमा हुरी चल्ने सम्भावना रहेकाले सतर्कता अपनाउन अनुरोध गरिएको छ।
असार १४, २०८३ आइतबार ०७:२३:१५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।