प्रहरीमाथि इनमको चार गम्भीर आरोप, अनुसन्धान प्रक्रिया र प्रमाण नै शंकामा

प्रहरीमाथि इनमको चार गम्भीर आरोप, अनुसन्धान प्रक्रिया र प्रमाण नै शंकामा

काठमाडौँ : अदालतमा चलखेल भएको भन्दै चोलेन्द्र शमशेर राणाहुँदै पक्राउ परेका इनम सापकोटाले राष्ट्रिय मानव अधिकार आयोगमा दिएको निवेदनमा प्रहरी सँगठनमाथि चार गम्भीर आरोपहरू उल्लेख गरेका छन्।

अनुसन्धान सुरु भएदेखि नै निकै विवादित बनेको यो प्रकरणमा उनको तर्फबाट आयोगमा उनको श्रीमती कविता पाण्डेले दिएको जीवन रक्षा, निष्पक्ष अनुसन्धान र दोषीमाथि कारबाहीको मागसहितको निवेदनमा प्रहरीले पक्राउ गरेको प्रक्रिया, हिरासतमा राखिएको अवस्था, बयान तथा प्रमाण संकलनको वैधता र उच्चपदस्थ व्यक्तिहरूको नाम जोडेर बयान दिन दबाब दिइएको लगायतका गम्भीर दाबीहरू उल्लेख छ।

चोलेन्द्रको गैर कानुनी पक्राउबाट सुरु भएको यो प्रकरणमा अनुसन्धान भन्दा पनि इनमको नाममा व्यक्ति केन्द्रित विवादहरू सार्वजनिक गर्ने होडै चलेको थियो। प्रारम्भदेखि नै प्रहरीको व्यवहार निकै शंकास्पद देखिएकोमा निवेदनमा उनले उल्लेख गरेका आरोपहरूले प्रहरीको अनुसन्धानको विश्वसनीयतामाथि नै थप गम्भीर प्रश्नहरू उब्जाएको छ।

इनममाथिको अनुसन्धानमा प्रहरीको विशेष ब्युरो र जिल्ला प्रहरी कार्यालय जोडिएका छन्। उनको मोबाइल मेसेजका आधारमा सशस्त्र प्रहरी बलका एआइजी बशींराज दाहालमाथि कार्वाही गरेर सेवाबाट हटाइएको छ। उनीसँग सम्पर्क रहेको आधारमा नेपाल प्रहरीका आइजिपी दानबहादुर कार्कीलाई हटाएर सरकारले सुरक्षा सल्लाहकार बनाएको छ।

सर्वोच्च अदालतका न्यायाधीशसमेत जोडिएको यो प्रकरणमा नेपाली कांग्रेसको विशेष महाधिवेशनको आधिकारीताका लागि गगन थापाले १८ करोड दिएको दाबीसहितको पटक पटक सम्पादित अडियो सार्वजनिक भएको थियो।

प्रारम्भमा इनमसँग जोडिएकाहरूमाथि कार्वाही अगाडि बढे पनि पछिल्लो समय इनमको मोबाइल लगेर छेडखानी गरेको आरोपमा प्रधानमन्त्री वालेन्द्र शाहका सल्लाहकार कुमार व्यञ्जनकार जोडिएपछि भने यो प्रकरण बिस्तारै मत्थर हुँदै गएकोमा शुक्रवार इनमको गम्भीर दाबीसहितको निवेदन सार्वजनिक भएको हो।

विमानस्थलबाट नियन्त्रण र आँखामा पट्टी बाँधेर राखिएको दाबी

निवेदनअनुसार इनम सापकोटा २०८३ असोज १४ गते दिउँसो करिब १०:३० बजे अध्ययन तथा व्यावसायिक प्रयोजनका लागि नयाँदिल्ली जान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए। बोर्डिङ पास लिई अन्तिम सुरक्षा जाँच स्थलमा पुग्दा प्रहरीले नियन्त्रणमा लिएर दुईवटा मोबाइल फोन खोसेको, विमानस्थलबाट बाहिर निकाली गाडीमा राखेर आँखामा पट्टी बाँधेको तथा असोज १४ देखि १५ गते साँझसम्म अज्ञात स्थानमा कालो पट्टी लगाएकै अवस्थामा राखेको निवेदनमा उल्लेख छ।

अज्ञात स्थानमा राखिएको अवधिमा आफू विरुद्ध व्यक्तिगत रिसइबी नरहेको भन्दै पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, उनका भाइ तथा छोरा, नेपाली कांग्रेसका सभापति गगन थापा, नेता तथा व्यवसायी उमेश श्रेष्ठ, भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, हिमालय होटेलका नवीन तुलाधर र सर्वोच्च अदालतमा कार्यरत केही न्यायाधीशहरूविरुद्ध प्रमाण र बयान दिए छाड्ने, नदिए आफू र परिवारलाई समेत नराम्रो हुने धम्की दिइएको निवेदनमा दाबी गरिएको छ।

कागजमा लेखेर ठूलो स्वरमा बयान पढ्न लगाइयो 

आफूले कुनै गैरकानुनी काम नगरेको र फोन सम्पर्क मात्र गरेको बताउँदा पनि नमानेपछि प्रहरीले लामो  समय जेल हाल्ने तथा परिवारको जिउज्यान जोखिममा पार्ने भन्दै मानसिक यातना दिइएको निवेदनमा जिकिर छ।

निवेदनअनुसार प्रहरीले तयार पारेको कागज आँखाको पट्टी माथि सारेर ठूलो स्वरमा पढ्न लगाइएको र पछि त्यही पढेको बेहोरा लेखिएको कागजमा सही गर्न दबाब दिइएको उल्लेख छ। आफूलाई जानकारी नै नभएको र नगरेको कुरामा सही गर्न इन्कार गरेपछि आँखामा पट्टी र त्यसमाथि अर्को चस्मा लगाई गाडीमा राखेर असोज १५ गते साँझ जिल्ला प्रहरी परिसर, भद्रकाली पुर्याई थुनामा राखिएको निवेदनमा दाबी गरिएको छ।

खानतलासी, मुचुल्का र मुद्दा फेरबदलसम्बन्धी आरोप

असोज १६ गते बिहान करिब ८:३० बजे हतकडी लगाई दुईवटा सुटकेससहित प्रहरी भ्यानमा राखेर काठमाडौँ महानगरपालिका–३ स्थित पानीपोखरी हाइट होम्स अपार्टमेन्टमा लगिएको निवेदनमा जनाइएको छ।

त्यहाँ पाँच महिनाकी छोरीसहित श्रीमती र जेठान रहेको अवस्थामा घर खानतलासी गर्दा पुरानो ल्यापटप, पुरानो फोन र केही कागजात मात्र फेला परेको उनको दाबी छ।

खानतलासीका क्रममा एक प्रहरीले बाहिर राखिएको सुटकेसभित्रको साइड ब्यागबाट विदेशी मुद्रा निकाली फेला परेको भन्दै मुचुल्का तयार पारेको र श्रीमतीको दस्तखत खाली पानामा गराइएको उनको आरोप छ। दुई दिनअघि नै खोसिएको आइफोन घरबाट बरामद भएको भनी लेख्न खोज्दा आफन्तले प्रश्न उठाएपछि सो विषय उल्लेख नगरी मुचुल्का उठाइएको उनको दाबी छ।

त्यस्तै, असोज १४ गते साँझ विमानस्थल अगाडिको सार्वजनिक सडकमा महिला लगायत सर्वसाधारणमाथि अश्लील हर्कत र अभद्र व्यवहार गरेको भनी म्याद थप गरिए पनि आफू विमानस्थलभित्रबाट पक्राउ परेको र सिसिटिभी फुटेज तथा बोर्डिङ पास जाँच गरे सत्यतथ्य खुल्ने निवेदनमा उल्लेख छ।

पछि १३ सय अमेरिकी डलर र केही भारतीय रुपैयाँ बरामद भएको भन्दै राष्ट्र बैकसम्बन्धी कसुरमा काठमाडौँ जिल्ला अदालतमा म्याद थप गरिएको र त्यसपछि सम्पत्ति शुद्धीकरणको मुद्दा थप्ने प्रवृत्ति देखाइएको आरोप लगाइएको छ।

अडियो, मोबाइल र मिडिया ट्रायलको दाबी

पक्राउ परेका दिन पढ्न लगाइएका विषयहरू काँटछाँट गरी सार्वजनिक गरिएको थाहा पाएको र पछि अडियो परीक्षणका नाममा आवाज आफ्नै जस्तो भए पनि भनेका कुरा याद नभएको भनी बयान लिइएको निवेदनमा उल्लेख छ।

पछि आफन्त र थप बयानका क्रममा ती अडियो नेपाली कांग्रेसको आधिकारिताको विवाद तथा सर्वोच्च अदालतका न्यायाधीशहरूको सेटिङसँग जोडिएका विषय रहेको थाहा पाएको दाबी गरिएको छ।

प्रहरीको नियन्त्रणमा रहँदा मोबाइल दुई दिनसम्म अनधिकृत व्यक्तिलाई दिई छेडखानी गरिएको, एआईबाट सिर्जित कागजात प्रमाणका रूपमा प्रस्तुत हुन थालेको सूचना पाएको तथा अनुसन्धानका सामग्री चुहाएर 'सबैभन्दा ठूलो बिचौलिया', 'फिक्सर' जस्ता उपनाम दिई मिडिया ट्रायल गरिएको आरोप निवेदनमा छ।

श्रीमतीलाई कागज गर्न जाँदा समेत 'प्रहरीको फन्दामा परेको' जस्ता शब्द लेख्न लगाएर बदनाम गराइएको उनको दाबी छ। उनले निवेदनमा यस्ता गतिविधिमा संलग्न व्यक्तिहरूको पहिचान गरी कानुनबमोजिम कारबाहीको सिफारिस, आफू र आफ्नो परिवारको जिउज्यान तथा स्वतन्त्रताको रक्षा, मोबाइलमा छेडखानी, एआईमार्फत प्रमाण सिर्जना र अनुसन्धानका सामग्री चुहाउने कार्यमा संलग्न व्यक्तिहरूमाथि छानबिन गरी सजाय र नेपालको संविधानको धारा २० (न्यायसम्बन्धी हक) र धारा २८ (गोपनीयताको हक) लगायत मौलिक हकको संरक्षण गर्दै कानुनको दायराभित्र रही स्वच्छ सुनुवाइ र अनुसन्धान सुनिश्चित गर्न माग गरेका छन्।

मंसिर ११, २०८३ शुक्रबार २२:२६:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।