लुम्बिनी सरकारको विकास बजेट खर्च सुस्त, चार महिनामा १० प्रतिशत पनि खर्च भएन
बुटवल : चालु आर्थिक वर्षको पहिलो चौमासिक (साउन-कात्तिक) सकिँदासम्म लुम्बिनी प्रदेश सरकारको बजेट कार्यान्वयनको अवस्था निकै सुस्त देखिएको छ।
कोष तथा लेखा नियन्त्रक कार्यालयका अनुसार कात्तिक मसान्तसम्म प्रदेश सरकारले कुल विनियोजित बजेटको जम्मा १२ दशमलव ७४ प्रतिशत अर्थात् चार अर्ब ७६ करोड १४ लाख रुपैयाँ मात्रै खर्च गर्न सकेको छ।
प्रदेश सरकारले आर्थिक वर्ष २०८३/०८४ का लागि कुल ३७ अर्ब ३८ करोड ४५ लाख रुपैयाँको बजेट ल्याएको थियो। विशेषगरी पूर्वाधार तथा विकास निर्माणलागि छुट्याइएको पुँजीगत खर्चको प्रगति निराशाजनक छ।
विकास निर्माण र पूर्वाधारका क्षेत्रमा खर्च हुने पुँजीगततर्फ २२ अर्ब ७१ करोड ६५ लाख रुपैयाँ छुट्याइएको थियो। तर चार महिनाको अवधिमा यस शीर्षकमा दुई अर्ब १९ करोड १३ लाख रुपैयाँ मात्रै खर्च भएको छ। यो विनियोजित पुँजीगत बजेटको करिब १० प्रतिशत हो।
त्यस्तै, चालुतर्फ विनियोजित १४ अर्ब ६६ करोड ७९ लाख रुपैयाँमध्ये दुई अर्ब ५७ करोड २७ लाख रुपैयाँ खर्च भएको छ। चालु खर्चको प्रगति १७ प्रतिशत रहेको छ।
विकास बजेट खर्च हुन नसक्दा प्रदेशका पूर्वाधार तथा विकास आयोजनाको कार्यान्वयनमा ढिलाइ हुने देखिएको छ। विशेषगरी विकास निर्माणसँग सम्बन्धित मन्त्रालयहरूको खर्च न्यून हुँदा बजेट कार्यान्वयनको प्रभावकारितामाथि प्रश्न उठेको छ।
यद्यपि, प्रदेश सरकारका प्रवक्ता एवं स्वास्थ्यमन्त्री रामजी घिमिरेले भने सुरुवाती चार महिनाको खर्चलाई अस्वाभाविक मान्न नहुने बताउँछन्। उनका अनुसार चालु महिनादेखि ठेक्का प्रक्रियासहित ठूला आयोजनाका खर्चसम्बन्धी काम अघि बढ्न थालेका छन्।
विकास निर्माणका आयोजनाबाट भुक्तानी हुने समय सुरु नभइसकेकाले अहिलेको खर्चलाई मात्र आधार बनाएर समग्र अवस्थाको मूल्यांकन गर्न नमिल्ने उनको भनाइ छ।
मन्त्रालयगत खर्च विवरण हेर्दा स्वास्थ्य मन्त्रालय सबैभन्दा अगाडि देखिएको छ। पहिलो चार महिनामा स्वास्थ्य मन्त्रालयले चालु र पुँजीगत गरी कुल बजेटको २९ दशमलव ३३ प्रतिशत खर्च गरेको छ।
त्यस्तै, आन्तरिक मामिला, कानुन, उद्योग तथा यातायात मन्त्रालयले १३ दशमलव २६ प्रतिशत र आर्थिक मामिला तथा योजना मन्त्रालयले १२ दशमलव ३० प्रतिशत बजेट खर्च गरेका छन्। वन तथा वातावरण मन्त्रालयको खर्च १० दशमलव ९५ प्रतिशत र कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको ९ दशमलव ७७ प्रतिशत रहेको छ।
सामाजिक विकास मन्त्रालयले ९ दशमलव १५ प्रतिशत खर्च गर्दा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको खर्च ८ दशमलव ८४ प्रतिशतमा सीमित भएको छ। भौतिक पूर्वाधार विकास मन्त्रालयले ७ दशमलव ६९ प्रतिशत बजेट खर्च गरेको छ।
सबैभन्दा कमजोर खर्च गर्ने मन्त्रालयमा सहरी विकास, ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालय रहेको छ। उक्त मन्त्रालयले कात्तिक मसान्तसम्म कुल बजेटको ४ दशमलव ५७ प्रतिशत मात्रै खर्च गरेको छ।
यता, प्रदेश सरकारले स्थानीय तहमा पठाउने बजेटको खर्च भने तुलनात्मक रूपमा बढी देखिएको छ। स्थानीय तहमा हस्तान्तरण हुने बजेटतर्फ पहिलो चार महिनामा २६ दशमलव ८१ प्रतिशत खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालयको तथ्यांकमा उल्लेख छ।
मंसिर १३, २०८३ आइतबार १०:४३:४१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।