रास्वपा सांसद अमरेशलाई आफ्नै जिल्लामा हिन्दु सम्राट् सेनाको कालो झन्डा

रास्वपा सांसद अमरेशलाई आफ्नै जिल्लामा हिन्दु सम्राट् सेनाको कालो झन्डा

सर्लाही : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहलाई कालो झन्डा देखाएको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। आफ्नै गृहजिल्ला सर्लाहीमा हिन्दु सम्राट् सेनाका कार्यकर्ताले कालो झन्डा देखाएपछि प्रहरीले चार जनालाई पक्राउ गरेको थियो।

सिंह अहिले पूर्व–पश्चिम हुलाकी राजमार्ग पदयात्रामा छन्। उनी पदयात्राको क्रममा सर्लाही आइपुगे थिए।शनिबार साँझ मलंगवामा सिंहलाई हिन्दु सम्राट् सेनाका कार्यकर्ताले कालो झन्डा देखाउँदै विरोध जनाएका थिए। 

हिन्दु सम्राट् सेनाका कार्यकर्ताहरूले मलंगवास्थित जिल्ला विकास चोकमा रहेको बाबा स्वामी मठ नजिक सांसद सिंहको पुत्ला समेत जलाएका थिए। उनीहरूले सांसद सिंहका अभिव्यक्ति हिन्दु धर्म विरोधी रहेको आरोप लगाएका छन्।

कालो झन्डा देखाउने क्रममा प्रहरीले आफ्ना चार जना कार्यकर्तालाई पक्राउ गरेको हिन्दु सम्राट् सेनाको नेता कृष्णा यादवको भनाइ छ। उनीहरूले आफ्ना कार्यकर्तालाई पक्राउ गरेर विरोध प्रदर्शन गर्ने अधिकारमाथि सरकारले अंकुश लगाउन खोजिएको भन्दै आपत्तिसमेत जनाएका छन् ।

यता, पदयात्राका क्रममा सर्लाही आइपुगेका सांसद सिंह शनिबार राति जिल्ला सदरमुकाम मलंगवामा बसेका छन् । उनी आइतबार पुन पदयात्रामा निस्कने रास्वपा सर्लाहीका जिल्ला सभापति सरोज बानियाँले जानकारी दिए।  

विश्वनाथ ठाकुर, नेपाल न्युज बैंक  

मंसिर १२, २०८३ शनिबार २२:२३:३५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।