मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री यादवले लिए शपथ

मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री यादवले लिए शपथ
फाइल तस्बिर

जनकपुरधाम : मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले आइतबार मैथिली भाषामा पद तथा गोपनीयताको शपथ लिएका छन्। 

नेपालको संविधानको धारा १६८ को उपधारा (३) बमोजिम शनिबार प्रदेशसभाको सबैभन्दा ठूलो दलको जनता समाजवादी पार्टी (जसपा) नेपालको संसदीय दलका नेताको हैसियतमा मुख्यमन्त्री नियुक्त भएका उनलाई प्रदेश प्रमुख डा. सुरेन्द्र लाभ कर्णले शपथ ग्रहण गराएका हुन्।

शपथ लिए पनि मुख्यमन्त्री यादवले अहिले मन्त्रिपरिषद् विस्तार गरेका छैनन्। यसअघि संविधानको धारा १६८ को उपधारा (२) अनुसार सरकार गठनका लागि आह्वान गरिएकोमा कसैको दाबी नपुगेपछि प्रदेश प्रमुख कर्णले शनिबार जसपा नेपालका मधेश प्रदेश संसदीय दलका नेता यादवलाई उपधारा (३) बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरेका थिए।

मुख्यमन्त्रीका रूपमा यादवको यो दोस्रो कार्यकाल हो। यसअघि उनी प्रदेशसभाको दोस्रो कार्यकालमा मधेश प्रदेशको पहिलो मुख्यमन्त्री बनेका थिए भने प्रदेशसभाको पहिलो कार्यकालमा सभामुख रहेका थिए। 

मंसिर ६, २०८३ आइतबार ११:११:५१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।