देउवा कांग्रेसको लुम्बिनी सभापतिमा आपराधिक पृष्ठभूमिका ‘रोज राणा’ सर्वसम्मत

देउवा कांग्रेसको लुम्बिनी सभापतिमा आपराधिक पृष्ठभूमिका ‘रोज राणा’ सर्वसम्मत

बुटवल :  आपराधिक गतिविधि, हप्ता असुली र रात्रिकालीन व्यवसायमा लामो समय विवादित पृष्ठभूमिका सरोज थापा (रोज राणा) देउवा पक्षीय नेपाली कांग्रेसको लुम्बिनी प्रदेश सभापतिमा सर्वसम्मत चयन भएका छन्।

प्रदेश सभापतिका मुख्य दाबेदार रहेका राणा सोमबार नेताहरूबीचको भागबन्डा र समझदारीपछि निर्विरोध प्रदेश सभापति बनेका हुन्। अधिवेशन तयारी समितिका संयोजक गेहेन्द्र गिरीका अनुसार सोमबार सम्पन्न प्रदेश अधिवेशनको बन्दसत्रले थापालाई नेतृत्व सुम्पिने निर्णय गरेको हो।

सभापति पदका लागि प्युठानका सरोज थापासँगै पाल्पाका माधव नेपाल र रुपन्देहीका डा. दामोदर भुसालले उम्मेदवारी दिएका थिए। तर, लामो रस्साकस्सीपछि तीनै नेताबीच ‘सहमति’ जुटाइएपछि राणाको नाममा सर्वसम्मति कायम भएको नेता कृष्ण पोखरेलले जानकारी दिए। प्रदेश कार्यसमितिका अन्य पदाधिकारीको टुङ्गो भने अझै लाग्न सकेको छैन।

थापा प्युठान ‘ख’बाट निर्वाचित प्रदेशसभा सदस्य हुन् र यसअघि उनी लुम्बिनी प्रदेश सरकारमा उद्योग, पर्यटन तथा यातायात मन्त्रीसमेत भइसकेका छन्।

फिल्म निर्माता तथा अभिनेताको आवरणमा राजनीतिमा फड्को मारेका रोज राणाको पृष्ठभूमि भने अपराध र रात्रिकालीन अवैध धन्दासँग जोडिएको छ। उकेराले यसअघि नै उनको आपराधिक योग्यता र राजनीतिक संरक्षणको जालोबारे विस्तृत तथ्य सार्वजनिक गरेको थियो।

काठमाडौंको बागबजार र गोंगबु क्षेत्रमा डान्सबार चलाउने क्रममा युवतीहरूलाई नग्न नाच्न बाध्य पारेको तथा मानव बेचबिखनको आरोपमा उनी यसअघि प्रहरी हिरासतमा परेका थिए। मानव बेचबिखनको कसुरमा पक्राउ परेका उनी ६ महिनासम्म पुर्पक्षका लागि थुनामा समेत बसेका थिए।

त्यति मात्र होइन, राजधानीमा हप्ता असुली, ठेक्कापट्टा र गुण्डागर्दीका धन्दामा संलग्न रहेका राणा कुनै समय ‘डन’ दिनेश अधिकारी (चरी) समूहसँग नजिक थिए। असुली र आपराधिक लेनदेनकै विवादका कारण २०७३ सालमा नयाँ बानेश्वरमा उनीमाथि विपक्षी गुण्डा समूहले खुकुरी प्रहारसमेत गरेको थियो।

आपराधिक दुनियाँबाट एकाएक कांग्रेसको युवा दस्ता तरुण दल हुँदै पार्टी राजनीतिमा प्रवेश गरेका राणालाई देउवा समूहले निरन्तर संरक्षण दिँदै आएको छ।

मंसिर ८, २०८३ मंगलबार १४:०४:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।