सर्लाहीको लालबन्दीमा एक व्यक्तिलाई घाइते बनाएर मोटरसाइकल लुटपाट

सर्लाहीको लालबन्दीमा एक व्यक्तिलाई घाइते बनाएर मोटरसाइकल लुटपाट
एआईको सहयोगमा बनाइएको तस्बिर।

सर्लाही : लालबन्दी नगरपालिका- १ स्थित पूर्व-पश्चिम राजमार्गमा अपरिचित दुई व्यक्तिले धारिलो हतियार प्रहार गरी एक व्यक्तिलाई घाइते बनाएर मोटरसाइकल लुटेका छन्।

शनिबार साँझ करिब ७:५० बजे हरिवनबाट लालबन्दीतर्फ आउँदै गरेका लालबन्दी नगरपालिका -७ बस्ने महोत्तरीको सम्सी गाउँपालिका-१ पर्साका सुजित कुमार सिंहमाथि बागवानी केन्द्र नजिक आक्रमण भएको हो।

नम्बर नखुलेको मोटरसाइकलमा आएका उनीहरूले धारिलो हतियार प्रहार गरेपछि सिंह चढेको मधेश प्रदेश ०३-०२८ प ७४०४ नम्बरको यामाहा सलुटो मोटरसाइकल लिएर फरार भएको सर्लाही प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए।

दुवै हात र पेटमा चोट लागेको सिंहको लालबन्दी मोडल अस्पतालमा उपचार भइरहेको छ। उनको अवस्था मध्यम रहेको र बोल्न सक्ने स्थितिमा रहेको प्रहरीले जनाएको छ। हरिवन बजार क्षेत्रमा पसलको पैसा उठाएर फर्कँदै गर्दा सिंहमाथि आक्रमण भएको बुझिएको प्रवक्ता गौतमले जानकारी दिए। 

यद्यपि, उनले संकलन गरी ल्याउँदै गरेको पैसा लुटिए वा नलुटिएको विषय प्रष्ट भइसकेको छैन। त्यस्तै, घटनास्थलमा गोली चलेको भनिए पनि धारिलो हतियार प्रहार बाहेक गोली चलेको पुष्टि हुन बाँकी रहेको उनले जानकारी दिए। घटनामा संलग्न व्यक्ति र लुटिएको मोटरसाइकलको खोजतलास भइरहेको प्रहरीले जनाएको छ। 

मंसिर १३, २०८३ आइतबार ०९:१९:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।