कांग्रेसको १८ पृष्ठ लामो निर्णयको निष्कर्ष : सरकार शासकीय अराजकता र स्वेच्छाचारिताको बाटोमा हिँड्यो
ललितपुर : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले वर्तमान सरकार शासकीय अराजकता र स्वेच्छाचारिताको बाटोमा अग्रसर भएको निष्कर्ष निकाल्दै अब संसद् र सडकबाट सशक्त प्रतिरोधमा उत्रिने निर्णय गरेको छ।
मंसिर ८ देखि ११ गतेसम्म पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकले सरकारका पछिल्ला गतिविधिले संविधान, लोकतन्त्र र विधिको शासनमाथि गम्भीर प्रहार गरेको ठहर गरेको हो।
सरकार गठनपछि देखिएका कमजोरी नयाँ सरकार र नयाँ नेतृत्वको अनुभवको कमीका कारण देखिएको भन्दै कांग्रेस संयम बनेको र सरकारलाई सच्चिने र काम गर्ने पर्याप्त समय दिएको भन्दै निर्णयमा यो सरकार चलाउनेको अनुभवको कमी भन्दा पनि सोच, शैली र प्रवृत्ति देखिएको भन्ने गम्भीर आशंका उब्जिएको निर्णयमा उल्लेख छ।
सरकारको कार्यशैलीप्रति मौन रहनु देश र जनताप्रति आफ्नो जिम्मेवारीबाट विमुख हुनु हुने भन्दै रचनात्मक प्रतिपक्षको रूपमा सरकारको राम्रो कामको समर्थनसँगै स्वेच्छाचारिताको विपक्षमा मुखर हुने निर्णयमा उल्लेख छ।
सार्वजनिक भएको १८ पृष्ठ लामो निर्णयमा सरकारले संसद् छलेर अध्यादेश ल्याएको, राष्ट्रपति र संवैधानिक निकायको अवमूल्यन गरेको भन्दै कडा आपत्ति जनाएको छ। सुनकोसी–मरिन प्रकरण र प्रधानमन्त्रीका सल्लाहकार जोडिएको मोबाइल प्रकरणमा निष्पक्ष छानबिनको माग गरेको छ।
प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणमा सीमाजस्ता संवेदनशील विषय ओझेलमा परेकोमा चासो राख्दै विकास प्याकेजको स्वागत गरेको छ। बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणमा सरकार उदासीन भएको र सुकुम्बासी बस्तीमा बल प्रयोग भएकोमा गम्भीर चासो देखाउँदै यस्तो नगर्न चेतावनी समेत दिएको छ।
कांग्रेसले संसद्को अधिवेशन तत्काल आह्वान गर्न, पर्याप्त छलफलबिना ल्याइएका अध्यादेश फिर्ता लिन र संवैधानिक सीमामा रहन सरकारलाई खबरदारी गरेको छ।
चयनमूखी अनुसन्धानको आरोप
बैठकले सरकारले कानुनलाई शासकको स्वार्थ अनुकूल प्रयोग गर्न खोजेको आरोप लगाउँदै निर्णयमा सुनकोशी-मरिन आयोजनासम्बन्धी प्रकरण र प्रधानमन्त्रीका प्रमुख सल्लाहकारको जिम्मेवारीमा रहेका व्यक्तिसँग जोडिएको मोबाइल प्रकरणले सरकारको निष्पक्षतामाथि गम्भीर प्रश्न उठाएको भन्दै प्रहरी अनुसन्धानको प्रमाणमाथि हस्तक्षेप नगर्न र निष्पक्ष छानबिन गर्न माग गरेको छ।
सुनकोशी-मरिन आयोजनाको प्रमुखसहितलाई प्रहरी लगाएर प्रधानमन्त्री कार्यालय पुर्याई ठेक्का प्रक्रिया रद्द गर्न लगाएको सार्वजनिक भएको थियो। प्रधानमन्त्रीका सल्लाहकार कुमार व्यञ्जनकारले इनम सापकोटको मोबाइलको दुरुपयोग गरेको घटना समेत सार्वजनिक भएको थियो।
त्यस्तै, भदौ २३ र २४ का घटनासम्बन्धी छानबिन प्रतिवेदन, मानव अधिकार आयोगको प्रतिवेदन तथा विभिन्न समुदायसँग भएका सम्झौताको प्रगति विवरण तत्काल सार्वजनिक गर्न सरकारलाई अल्टिमेटम दिइएको छ।
प्रधानमन्त्री वालेन्द्रको भारत भ्रमणको स्वागतसँगै प्रश्न
प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा भैरहवा हवाई मार्ग लाई दुईतर्फी बनाउने सहमति तथा भोटेकोशी–त्रिशूली बाढीपछिको पुनर्निर्माणका लागि भारतले घोषणा गरेको २४० अर्ब नेपाली रुपैयाँ (१५० अर्ब भारु) बराबरको विकास सहयोग प्याकेज को कांग्रेसले स्वागत गरेको छ।
यद्यपि, विगतमा सीमाका विषयमा उत्तेजक अभिव्यक्ति दिएर लोकप्रियता कमाउने प्रधानमन्त्रीले उच्चस्तरीय कूटनीतिक संवादको अवसर पाउँदा उक्त विषय प्रवेश नै नगराई फर्किएको भन्दै कांग्रेसले दोहोरो चरित्रको संज्ञा दिएको छ।
बैठकले २४० अर्बको सहयोग पारदर्शी र परिणाममुखी रूपमा खर्च गर्ने खाका तथा भैरहवा विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सुरु हुने स्पष्ट समयसीमा सार्वजनिक गर्न माग गरेको छ।
बाढी प्रभावितको बिचल्ली र सुकुम्बासी बस्तीमा बल प्रयोगको विरोध
भोटेकोशी, बूढीगण्डकी र कालीगण्डकी लगायतका बाढी प्रभावित क्षेत्रमा तीन महिना बितिसक्दा पनि पुनर्निर्माणको खाका नआएको र राहत वितरण कर्मकाण्डी मात्र बनेको कांग्रेसको ठहर छ। बैठकले केन्द्रीय सदस्य मोहन आचार्यको संयोजकत्वमा गठित समितिलाई विस्तार गरी प्रभावित क्षेत्रमा परिचालन गर्ने निर्णय गरेको छ।
यसैगरी, वैकल्पिक आवास र पुनर्स्थापनाको व्यवस्था नगरी काठमाडौँ उपत्यकालगायत देशका विभिन्न स्थानमा सुकुम्बासी बस्तीमा डोजर र बल प्रयोग गरिएको भन्दै कांग्रेसले आपत्ति जनाएको छ। अध्यादेशको बाटो छाडेर संसद्बाटै स्थायी कानुन बनाई वास्तविक भूमिहीन र सुकुम्वासीको व्यवस्थापन गर्न तथा शक्तिको आडमा हदबन्दीभन्दा बढी राखिएको जग्गा सरकारको नाममा ल्याउन माग गरिएको छ।
चिन्ह र नामको दुरुपयोग गर्ने विरुद्ध कारबाहीको माग
बैठकले शेरबहादुर देउवा पक्षले गरिरहेको महाधिवेशनको तयारीबारे समेत आफ्नो धारणा सार्वजनिक गरेको छ। बैठकले केही व्यक्ति तथा समूहले नेपाली कांग्रेसको नाम, लेटरप्याड, चारतारे झन्डा र चुनाव चिह्न रुखको अनधिकृत प्रयोग गरी भेला तथा महाधिवेशनका नाममा भ्रम सिर्जना गरेको भन्दै बैठकले त्यस्ता व्यक्तिविरुद्ध विधान र प्रचलित कानुनबमोजिम कडा कारबाही अगाडि बढाउने निर्णय गरेको छ।
मंसिर १२, २०८३ शनिबार २१:४५:३६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।