दैलेखस्थित पेट्रोलियम खानीको काम रोकिँदा उपकरणमा लाग्न थाल्यो खिया, स्थलगत निरीक्षणपछि रविले दिए काम अघि बढाउने आश्वासन
दैलेख : दुई वर्षअघि नै चार हजार १३ मिटर गहिराइसम्म ड्रिलिङ गरिएको दैलेखको जलजलेस्थित पेट्रोलियम तथा मिथेन ग्यास खानीको परीक्षण कार्य एक वर्षदेखि रोकिँदा करोडौं मूल्यका संवेदनशील उपकरण खिया लाग्ने अवस्थामा पुगेका छन्।
भैरवी गाउँपालिका- १ मा नेपाल र चीनबीचको समझदारीमा सञ्चालित यस खानीमा परीक्षण अगाडि नबढ्दा उत्खननको कामसमेत रोकिएको छ। विसं २०७६ फागुनमा सम्पन्न विस्तृत अन्वेषण सम्झौताअनुसार ४५ रोपनी जग्गा अधिग्रहण गरी यो परियोजना अघि बढाइएको थियो।
कर्णालीको मुहार फेर्ने राष्ट्रिय गौरवको आयोजना रोकिदा चिन्ता व्यक्त भइरहेको बेलामा सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले शनिबार साँझ जलजलेस्थित ड्रिलिङ साइटको स्थलगत अवलोकन गर्न पुगेका थिए।
खानीको वर्तमान अवस्थाबारे प्रत्यक्ष जानकारी लिने क्रममा उनले परीक्षणको काम रोकिँदा करोडौं मूल्य बराबरका संवेदनशील उपकरणमा खिया लाग्न थालेकोप्रति आफ्नो ध्यानाकर्षण भएको बताए। लामिछानेले खानीको उत्खनन कार्यलाई सरकारले उच्च प्राथमिकतामा राखेर अघि बढाउने आश्वासन दिए।
उनले भने, “पहिलो पटक यहाँ आएर यसको अवस्था हेरेँ। उत्पादनको आवश्यकता छँदै छ, तत्काल महँगा उपकरणको संरक्षणको पनि उत्तिकै खाँचो देखियो। प्राविधिक काम कहाँ र किन अड्किएको हो, त्यसबारे थप बुझनुपर्छ।”
लामिछानेले लामो समयदेखि अड्किएको ‘वेल टेस्ट’ तथा व्यावसायिक उत्पादनको प्रक्रिया अगाडि बढाउन सम्बन्धित मन्त्रालय र विज्ञसँग परामर्श गर्ने प्रतिबद्धता जनाए। उनले प्रयोगशाला परीक्षणबाट ८० अर्ब ७० करोड घनमिटर प्राकृतिक मिथेन ग्यासको भण्डार पुष्टि भएकाले देशको करिब ५० देखि ६० वर्षसम्मको माग धान्न सक्ने हुँदा यो कर्णालीको मुहार फेर्ने राष्ट्रिय गौरवको आयोजना रहेको उल्लेख गरे।
“हामीले आम नागरिकसँग गरेको बाचा र चाहेको समृद्धिका आधार यिनै गौरवका आयोजना हुन्,” लामिछानेले भने, “यसको उत्खननलाई पूर्णता दिन निरन्तर पहल रहनेछ। विस्तृत अध्ययन गरी ठोस कदम चालिनेछ, सिङ्गो कर्णालीवासीले छिट्टै सकारात्मक सन्देश पाउनुहुनेछ।”
यसअघि उनलाई नेपाल पत्रकार महासङ्घ कर्णाली प्रदेशका अध्यक्ष विष्णु शर्माले परियोजनाको हालसम्मको प्रगति र वर्तमान अवस्थाबारे जानकारी गराएका थिए।
मंसिर १३, २०८३ आइतबार ०८:४०:२४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।