पथलैया चेकपोष्टमा नरोकी भागेको गाडीबाट २३७ किलो गाँजा बरामद

पथलैया चेकपोष्टमा नरोकी भागेको गाडीबाट २३७ किलो गाँजा बरामद

काठमाडौं : बाराको जितपुरसिमरा उपमहानगरपालिका- १ स्थित पथलैया चेकपोष्टमा नरोकेर तीव्र गतिमा भगाएको गाडीबाट प्रहरीले २३७.१७ किलोग्राम लागुऔषध गाँजा बरामद गरेको छ। 

शनिबार साँझ अमलेखगन्जबाट पथलैयातर्फ आउँदै गरेको बा १७ च २६३६ नम्बरको उक्त गाडीलाई प्रहरीले चेकजाँच गर्न खोज्दा चालकले तीव्र गतिमा भगाएका थिए।

प्रहरीले गाडीको पिछा गर्ने क्रममा चालक दुधौरा खोलाको पुलपारि जंगलछेउमा इन्जिन चालु अवस्थामै गाडी छाडेर फरार भएका थिए। गाडी जाँच गर्दा पछाडिको डिक्कीमा लुकाइछिपाइ राखिएको अवस्थामा २३७.१७ किलोग्राम गाँजा बरामद भएको हो।

लगत्तै प्रहरीले उक्त जंगल क्षेत्रलाई घेराबन्दी गरी खोजी गरेको थियो। खोजतलासका क्रममा चालक फेला नपरे पनि उनी भागेको दिशातर्फ एक थान किप्याड मोबाइल भेटिएको प्रहरीले जनाएको छ। गाडी र गाँजा नियन्त्रणमा लिई फरार चालकको खोजतलास भइरहेको प्रहरीले जनाएको छ।

मंसिर १३, २०८३ आइतबार ०८:०४:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।