देशभर मौसम मुख्यतया सफा रहने
काठमाडौं : हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेकाले आइतबार देशका अधिकांश भूभागको मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
यद्यपि, केही पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली भई हिमाली भेगका एक-दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने सम्भावना रहेको छ।
महाशाखाका अनुसार यतिबेला देशका हिमाली तथा पहाडी क्षेत्रको मौसम मुख्यतया सफा छ भने तराईका थोरै स्थानमा हुस्सु र तुवाँलो लागेको छ।
दिउँसो समग्र हिमाली भूभागसहित कोशी र बागमती प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली हुने महाशाखाले उल्लेख गरेको छ। बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहने भए पनि हिमाली भेगका एक-दुई स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने अनुमान गरिएको छ।
त्यस्तै राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्र र लुम्बिनी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ। रातिको समयमा देशका अन्य स्थानको मौसम मुख्यतया सफा रहने भए पनि कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भेगका एक-दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
मंसिर १३, २०८३ आइतबार ०७:२७:५९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।