बालिकालाई झारफुक गरेको भिडियो भाइरल भएपछि जुम्लाबाट एक जना पक्राउ
काठमाडौं : जुम्लामा १४ वर्षीया किशोरीलाई झारफुक गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा जुम्लाको गुठिचौर गाउँपालिका-१ बस्ने करिब ४६ वर्षीय कालीबहादुर रोकाया रहेका छन्।
प्रहरी चौकी मणिसाँघुबाट खटिएको प्रहरी टोलीले रोकायालाई शनिबार दिउँसो उनकै घरबाट पक्राउ गरेको हो। जुम्लाको गुठिचौरकी ती किशोरीलाई निको पार्ने भनेर झारफुक गरेको भिडियो सार्वजनिक भएपछि उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।
पक्राउ परेका रोकायालाई आवश्यक कारबाही तथा सोधपुछका लागि जिल्ला प्रहरी कार्यालय जुम्लामा ल्याइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
सामाजिक सञ्जालमा सार्वजनिक भिडियोमा झाँक्रीको पोसाकमा देखिएका व्यक्तिले किशोरीको कपाल समातेर भुईँमा लतारेको देखिन्छ।
नजिकै आगो बलिरहेको देखिन्छ भने उक्त गतिविधि वरिपरि केही महिला तथा पुरुषहरू जम्मा भएर हेरिरहेको देखिन्छ। झारफुकको नाममा किशोरीमाथि अमानवीय व्यवहार गरिएको भनेर सार्वजनिक चासो र आलोचना भइरहेको छ।
मंसिर १२, २०८३ शनिबार १६:३३:५८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।