समानान्तर महाधिवेशन चलाइरहेको देउवा पक्षलाई कारबाहीको चेतावनी : पार्टीको नाम र चिह्न दुरुपयोग नगर्न कांग्रेसको आग्रह
काठमाडौं : नेपाली कांग्रेसले पार्टीको नाम, लेटरप्याड, चारतारे झण्डा र चुनाव चिन्ह रुखको अनधिकृत प्रयोग गरेर भेला तथा महाधिवेशनका नाममा गतिविधि सञ्चालन गर्ने व्यक्ति वा समूहविरुद्ध कानुनी कारबाही अघि बढाउने निर्णय गरेको छ।
शनिबार केन्द्रीय समितिको निर्णय सार्वजनिक गर्दै महामन्त्री प्रदीप पौडेलले पार्टीको वैधानिक पहिचान र संस्थागत मर्यादामा आँच पुर्याउने तथा भ्रम सिर्जना गर्ने जो-कोहीविरुद्ध पार्टी विधान र प्रचलित कानुनबमोजिम कारबाहीको लागि कदम चाल्ने निर्णय बैठकले गरेको जानकारी दिए।
कांग्रेसको विशेष महाधिवेशनबाट अलग रहेको असन्तुष्ट पार्टीका पूर्व सभापति शेरबहादुर देउवा पक्षले आफूलाई नै आधिकारिक पार्टी भएको दाबी गर्दै अलग १५ औँ महाधिवेशन गरिरहेको छ। यसअघि यता विशेष महाधिवेशनको म्यान्डेटअनुसार गत असोज १६ देखि २३ गतेसम्म काठमाडौंमा भएको कांग्रेसको १५औँ नियमित महाधिवेशनबाट गगनकुमार थापाको सभापतित्वमा २३१ सदस्यीय केन्द्रीय कार्यसमिति निर्वाचित भइसकेको छ।
महाधिवेशन निर्वाचित कार्यसमिति र विधान संशोधनको विवरण मङ्सिर ८ गते निर्वाचन आयोगबाट अद्यावधिक भइसकेको पौडेलले जानकारी दिए। निर्वाचित सोही केन्द्रीय कार्यसमितिको शनिबार सम्पन्न बैठकले पार्टीको आधिकारिकता स्पष्ट भइसकेको अवस्थामा पनि केही व्यक्ति तथा समूहले नाम, ब्यानर, लेटरप्याड र चुनाव चिन्हको दुरुपयोग गरी महाधिवेशन भनेर गतिविधि चलाएकोप्रति ध्यानाकर्षण भएको जनाएको छ।
त्यस्ता अनधिकृत गतिविधि सञ्चालन नगर्न, प्रचार-प्रसार नगर्न र कुनै पनि भ्रममा नपर्न सम्पूर्ण पार्टी सदस्य, तहगत समिति र शुभेच्छुकहरूलाई महामन्त्री पौडेलले अपिल गरे। बैठकको यस आग्रहका बाबजुद सामाजिक सञ्जाल वा अन्य माध्यमबाट भ्रम फैलाउने र समानान्तर गतिविधि गर्नेहरूमाथि कानुनी प्रक्रिया थाल्ने उनले बताए।
मंसिर १२, २०८३ शनिबार १५:३७:३८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।