काठमाडौंमा खसीको भन्दै बाख्रीको मासु बेचेको आरोपमा आठ जना पक्राउ

काठमाडौंमा खसीको भन्दै बाख्रीको मासु बेचेको आरोपमा आठ जना पक्राउ

काठमाडौं : काठमाडौंमा खसीको भनेर बाख्री तथा पाठीको मासु बिक्री वितरण गरेको आरोपमा आठ जनालाई पक्राउ परेका छन्। काठमाडौंको टुकुचास्थित खसी बजारबाट शनिबार बिहान उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिए। 

पक्राउ पर्नेमा सिन्धुलीको हरिहरपुरगडीका दिलबहादुर मोक्तान, धादिङको गजुरी सनम तामाङ र राजु लामा, काभ्रेपलाञ्चोकको तेमालका टेकबहादुर तामाङ र भुम्लुका दिनेश महत, मुगुको सिर्कोटका करण बानिया, ललितपुरको महालक्ष्मीका मनोज थापा र दोलखाको मेलुङका निखिल उप्रेती रहेका छन्।

बाख्री तथा पाठीको मासुलाई खसीको भनेर झुक्क्याएर बिक्री गरिरहेको सूचनाका आधारमा खटिएको प्रहरी टोलीले खानतलासी गर्दा करिब ५६७ किलो बाख्रीको मासुसहित उनीहरूलाई फेला पारेको थापाले जानकारी दिए। उनीहरूले उक्त परिमाणको मासु ‘BAD ५७६०’ नम्बरको भ्यान र ‘बा २० च ६३४६’ नम्बरको पिकअप गाडीमा लोड गरिरहेको अवस्थामा बरामद गरिएको थियो। 

मासु र ढुवानीमा प्रयोग गरिएका दुवै सवारी साधन नियन्त्रणमा लिएर पक्राउ परेका आठै जनाविरुद्ध थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

मंसिर १२, २०८३ शनिबार १४:५०:५१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।