बोडेस्थित सुकुमबासी बसेको होल्डिङ सेन्टर खाली गर्न प्रहरीको माइकिङ, शुक्रबार २ बजेसम्मको अल्टिमेटम
काठमाडौं : स्थानीय प्रशासनले काठमाडौंका नदी किनारका बस्तीबाट विस्थापित गराइएका सुकुमबासीलाई राखेको होल्डिङ सेन्टर खाली गर्न माइकिङ गरेको छ। बिहीबार साँझ माइकिङ गरेको प्रहरीले शुक्रबार दिउँसो दुई बजेभित्र खाली गर्न भक्तपुरको बोडेस्थित होल्डिङ सेन्टरमा सूचना सुनाएको हो।
बुधवार दिउँसो होल्डिङ सेन्टरमै सूचना टाँसेर प्रशासनले होल्डिङ सेन्टर खाली गर्न भनेको थियो। तर, बिहीबार बिहान उपत्यकामा रहेका तीन वटै होल्डिङ सेन्टरका सुकुमबासीहरुले वैकल्पिक आवास तथा उचित व्यवस्थापन सुनिश्चित नगरी होल्डिड सेन्टर खाली गराउने निर्णय तत्काल रोक्न र विस्थापित पीडित परिवारलाई न्यायको माग गर्दै स्थानीय प्रशासनमार्फत सरकारसमक्ष आफ्नो मागपत्र राखे।
तर उक्त मागको सुनुवाइ नहुँदै होल्डिङ सेन्टर खाली गर्न प्रहरीले माइकिङ गर्यो। मङ्सिर ९ गतेको भूमि समस्या समाधान समितिको पत्रलाई आधार मानेर जिल्ला प्रशासन कार्यालय भक्तपुरले उनीहरूलाई निकाल्न खोजिरहेको देखिन्छ।
सुकुमबासीको मागपत्रमा भनिएको छ, "सुकुमबासी भूमिहीन साथै अव्यवस्थित बसोबासीका रूपमा कम्तीमा २३ वर्षदेखि ५५ वर्षदेखि बसोबास गर्दै आएका हामी नागरिकलाई सरकारले, वैकल्पिक आवास तथा उचित व्यवस्थापनको सुनिश्चितताबिना २४ घण्टाको सूचना दिएर घरटहरा भत्काई घरबार विहीन बनाएको छ। यसै क्रममा हाम्रो वर्षौंको मेहनतले निर्माण गरेका घरटहरा, घरायसी सामान, सम्पत्ति तथा जीविकोपार्जनका आधारसमेत नष्ट भए।"
नयाँ सरकार बनेको सुरुवातमै वैशाख १२ गते देखि सरकारले डोजर अभियान चलाएको थियो। १५ दिनभित्र व्यवस्थापन गर्ने प्रतिबद्धता समेत जनाएको सरकारले सात महिना भइसक्दा समेत लगत प्रमाणीकरणमै ढिला गरिरहेको छ। यस्तो अवस्थामा बसोबासको व्यवस्थाको आशा गरिरहेका सुकुमबासीहरुलाई फेरि आश्रय स्थलबाट पनि निकाल्न खोजिँदै छ।
मंसिर १०, २०८३ बिहीबार २२:१६:०१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।