वैकल्पिक आवासको सुनिश्चितता नगरी होल्डिङ सेन्टरबाट सुकुम्बासी नहटाउन कांग्रेसको माग

वैकल्पिक आवासको सुनिश्चितता नगरी होल्डिङ सेन्टरबाट सुकुम्बासी नहटाउन कांग्रेसको माग

काठमाडौं : वैकल्पिक आवासको व्यवस्थाबिनै अस्थायी 'होल्डिङ सेन्टर'बाट सुकुम्बासी परिवारलाई हटाउन लागिएकोप्रति आपत्ति जनाउँदै नेपाली कांग्रेसले उक्त निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग गरेको छ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहीबार बसेको केन्द्रीय कार्यसमिति बैठकले सरकारको यस निर्णयलाई संविधान प्रदत्त आवासको हक र सामाजिक न्यायको मर्मविपरीत भनेको छ। 

समस्या समाधानमा सहजीकरणका लागि कांग्रेसले केन्द्रीय सदस्य केशव निरौलाको संयोजकत्वमा तीन सदस्यीय समितिसमेत गठन गरेको छ। समितिको सदस्यहरूमा केन्द्रीय सदस्यद्वय मदनकृष्ण श्रेष्ठ र प्रबल थापा रहेका छन्।

बैठकको निर्णय सार्वजनिक गर्दै कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले सरकारले पहिले सुकुम्बासीका घर भत्काएर व्यवस्थापन र लालपुर्जाको आश्वासन दिएको तर महिनौंसम्म अनिश्चिततामा राखेर अहिले अस्थायी आश्रयबाट समेत लखेट्न खोजेको आरोप लगाए।

सुकुम्बासीप्रति सरकारले देखाएको व्यवहारमा मानवीय संवेदना र करुणाको अभाव रहेको भन्दै कांग्रेसले भनेको छ, “सरकारसँग कानुन पालना गर्ने विवेक मात्र होइन, नागरिकको पीडा बुझ्ने करुणा पनि हुनुपर्छ।” 

विज्ञप्तिमा अगाडि भनिएको छ, "राज्य नागरिकको अभिभावक हो। घरबारविहीन नागरिकलाई आश्रय दिनु राज्यको दायित्व हो, उनीहरूको बाँकी रहेको आश्रय खोस्नु होइन।" भूमिहीन तथा अव्यवस्थित बसोबासीको समस्या दमन र विस्थापनबाट नभई न्यायपूर्ण, मानवीय र दीर्घकालीन उपायबाट मात्र समाधान हुनुपर्ने कांग्रेसको माग छ। 

गत मंसिर ८ गतेदेखि सुरु भएको केन्द्रीय कार्यसमिति बैठकमा बिहीबार मात्रै ७० जना केन्द्रीय सदस्यहरूले समसामयिक विषयमा धारणा राखेका थिए। बैठकमा विभिन्न प्रदेशका सभापतिहरू तथा प्रवासमा रहेका सदस्यहरूले समेत लिखित धारणा पठाएको दुलालले जनाकारी दिए। केन्द्रीय सदस्यले धारणा राख्ने क्रम नसकिएकाले शुक्रबार बिहान साढे ८ बजे फेरि बैठक बस्ने छ।

मंसिर १०, २०८३ बिहीबार २०:०२:२८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।