बोडे सेल्टरका सुकुम्वासीले सडकमै बसेर खाना खाए
काठमाडौं : सरकारले शनिवारसम्ममा होल्डिङ सेन्टर खाली गर्न निर्देशन दिँदै खाना बन्द गरेपछि भक्तपुरको बोडेमा रमा रहेको होल्डिङ सेन्टरमा रहेका सुकुम्वासीहरुलाई अभियन्ताहरूले सडकमै खाना खुवाए। शुक्रवारबाट सरकारले होल्डिङ सेन्टरमा खाना बन्द गराएको छ।
बोडेस्थित कृषि विकास बैंकको तालिम केन्द्रमा रहेका १९ परिवारका ५९ जनालाई वैकल्पिक व्यवस्थापन नगरी होल्डिङ सेन्टरबाट निकाल्न खोजेपछि उनीहरू विरोध प्रदर्शनमा छन्। विरोध प्रदर्शनमा रहेकाहरू भोकै रहेको जानकारी पाए लगत्तै केही अभियन्ता र सहयोगीहरूले उनीहरूका लागि खाना लगेका थिए। तर सुरक्षाकर्मीले होल्डिङ सेन्टरमा छिर्न नदिएपछि उनीहरूले खाना सडकमै बसेर खाए।
सरकारले वैकल्पिक व्यवस्थापनको आश्वासन दिएर काठमाडौंको थापाथली, गैरीगाउँ र मनोहरा लगायतका क्षेत्रमा रहेको अव्यवस्थित बस्तीमा डोजर लगाएर त्यहाँ रहेकाहरूमध्ये केहीलाई होल्डिङ सेन्टरमा त केहीलाई होटलमा राखेको थियो। वैशाखबाट उनीहरूलाई बस्तीबाट हटाएकोमा मंसिर मध्य हुँदा पनि वैकल्पिक व्यवस्थापन नगरी जवर्जस्ती होल्डिङ सेन्टरबाट हटाउन लागेको हो।
अन्य होल्डिङ सेन्टरहरू बन्द गरेको सरकारले बोडेमा रहेको होल्डिङ सेन्टर समेत बन्द गर्न लागेको हो। सरकारले प्रारम्भमा १५ दिनमै सबै लगत तयार पारेर वास्तविक सुकुम्वासीका लागि वैकल्पिक व्यवस्थापन गर्ने दाबी गरेको थियो। तर पछि अनेक बहाना बनाउँदै बस्तीबाट हटाएकाहरूलाई वैकल्पिक बसोबासको व्यवस्था नगरी सेल्टरबाट हटाउन लागेको हो।
मंसिर १२, २०८३ शनिबार १४:२८:०८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।