‘झोले युग’बाट बाहिरिन सुर्खेतमा रविको तरकिब : मञ्चबाटै त्यागे कपडाको झोला, हातमा लिए ‘फाइल’
सुर्खेत : नेपाली राजनीतिमा कार्यकर्तालाई गिज्याउन वर्षौंदेखि प्रयोग हुँदै आएको शब्द हो- ‘झोले’।
शनिबार सुर्खेतमा आयोजित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को कर्णाली प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा सभापति रवि लामिछानेले यही ‘झोले’ ट्याग मेटाउने जुक्ति निकाले।
मञ्चबाट सम्बोधन गर्ने क्रममा लामिछानेले एकाएक पोडियममुनिबाट पार्टीको महाधिवेशन लेखिएको पुरानो कपडाको झोला तानेर हावामा हल्लाए।
उनले भने, ‘हाम्रो महाधिवेशनमा यही झोला दिइएको थियो। अब यस्तो झोला बोकेर हिँडेपछि त ‘झोले’ नै देखियो नि! अरू पार्टीले यसै गर्थे, हामीले पनि त्यही छाप्यौँ। पछि सोचेँ- किन झोले भनेछन्, यस्तो बोकेर हिँडेपछि त भनिहाल्छन् नि!’
उनी त्यतिमै रोकिएनन्। रास्वपा जन्मिनुअघि कांग्रेस, एमाले, माओवादी, जसपा, लोसपा सबैका कार्यकर्तालाई ‘झोले’ भन्ने चलन भए पनि आफूहरूलाई भने अलि फरक शब्दले प्रहार हुने गरेको भन्दै ठट्टा गरे।
‘अचेल रास्वपाका झोले पनि भन्न थालियो होला, तर हामीलाई त अझै ‘खराने’ र ‘घण्टे’ भन्छन्,’ हलमा हाँसोको फोहोरा छुटाउँदै उनले भने, ‘कम्तीमा झोलेबाट त बाहिर निस्केका रहेछौँ, तर झोलेभन्दा नि नमीठो शब्द आयो। ‘खराने’ र ‘घण्टे’ युगबाट नि पछि निकालौँला, पहिला झोलाबाट त निस्कौँ!’
यति भन्दै उनले कपडाको झोला पट्याएर साइड लगाए र हातमा घण्टीको लोगो भएको कालो रङको ‘स्मार्ट फाइल’ उचाले।
फाइल देखाउँदै उनले रमाइलो पारामा ‘फाइल’ शब्दसँगको आफ्नो राजनीतिक साइनो पनि सम्झिन भ्याए। मुसुक्क हाँस्दै उनले भने, ‘यो डायरी वा फाइलभित्र- हुन त ‘फाइल’ भन्ने शब्दसँग हाम्रो नाता छ नि हैन? झोलाबाट अब हामी फाइलमा प्रवेश गर्यौँ।’
उनले फाइल खोलेर भित्र जडित क्याल्कुलेटर औँलाले देखाउँदै थपे, ‘झोलाभित्र के-के बोकिन्छ थाहा छैन, तर अब यो फाइलभित्र जनताका मुद्दा र गुनासा राखौँ, जनताको हिसाब यहीँबाट गरौँ। यसमा ल्यापटप वा आइप्याड पनि अटाउँछ। आजबाट हामीले झोला त्याग्यौँ।’
कपडाको झोला सस्तो भए पनि कालो फाइललाई १२-१५ सय रुपैयाँ पर्ने उल्लेख गर्दै उनले खर्च जुटाउने रमाइलो तरिका पनि सुनाए।
चाहेको भए एनजिओ-आइएनजिओको लोगो हालेर प्रायोजन लिन सकिने वा अहिले ‘रास्वपाको सरकार बनेकाले आँखा सन्काउँदा स्पोन्सर पाइने’ भए पनि कसैको ‘जुठोपुरो’ नखाने उनले बताए। बरु मुगु, कालीकोट, हुम्ला र जुम्लाबाट आएका कार्यकर्तालाई थप आर्थिक भार नपार्न उनले ‘हुनेले किन्ने, नहुनेको हुने साथीले किन्दिने’ अभियान घोषणा गरे।
घोषणा मात्र होइन, उनले तत्कालै जम्मा गरेर ल्याएको नगद निकाल्दै मञ्चमै कोषाध्यक्षलाई बोलाए। ‘म अलिअलि किन्न सक्ने भएकाले सुरुवात यहीँबाट गर्छु, कम्तीमा १० जना साथीका लागि म खरिद गरिदिन्छु,’ भन्दै उनले कोषाध्यक्षको हातमा पैसा र फाइल थमाए अनि फेरि दोहोर्याए, ‘ल, आजबाट हामी झोलाबाट फाइलमा गयौँ, झोला त्याग्यौँ!’
मंसिर १२, २०८३ शनिबार १३:३९:४७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।