सानेपालाई देउवा कांग्रेसले भन्यो- हामी नै आधिकारिक हौँ, रूख चिह्न कसैले खोस्न सक्दैन

सानेपालाई देउवा कांग्रेसले भन्यो- हामी नै आधिकारिक हौँ, रूख चिह्न कसैले खोस्न सक्दैन

काठमाडौं : नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहले पार्टीको नाम, झण्डा र रूख चुनाव चिह्न प्रयोग गर्न कसैले रोक्न नसक्ने जनाएको छ।

संस्थापन पक्षले पार्टीको नाम, झण्डा र चुनाव चिह्नको दुरुपयोग रोक्न निर्वाचन आयोगलाई पत्र लेख्ने निर्णय गरेपछि देउवा समूह (इतर पक्ष) ले यस्तो जवाफ फर्काएको हो।

देउवा समूहको प्रचार–प्रसार समितिका संयोजक एवं प्रवक्ता डा. प्रकाशशरण महतले पार्टीको पहिचान र विरासतलाई कसैले खोस्न नसक्ने दाबी गरे।

उनले भने, ‘हामीले विधिसम्मत अधिवेशन गर्दै छौँ। उहाँहरूको कार्यसमितिलाई अद्यावधिक गर्यो भन्दैमा कारबाही गर्छौँ भन्ने ढङ्गको अभिव्यक्ति आइरहेको छ। त्यसमा कुनै तुक छैन। हामी आधिकारिक कांग्रेस हौँ, कांग्रेसको रूख चिह्न प्रयोग गर्न कसैले रोक्न सक्दैन।’

महतले सामाजिक सञ्जालको प्रभावमा नबहकिन नेता–कार्यकर्तालाई आग्रह गर्दै विवादका विषयमा न्यायपालिकाबाट आफूहरूले न्याय पाउने विश्वास व्यक्त गरे।

महाधिवेशनमा सबै पदमा सर्वसम्मत नेतृत्व चयन गर्ने आफूहरूको चाहना रहेको समेत उनले बताए।

मंसिर १२, २०८३ शनिबार १३:५८:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।