दसौं राष्ट्रिय खेलकुद : एनआरएनएलाई पाँच विकेटले हराउँदै गण्डकीको पहिलो जित

दसौं राष्ट्रिय खेलकुद : एनआरएनएलाई पाँच विकेटले हराउँदै गण्डकीको पहिलो जित

सुर्खेत : दसौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा गण्डकी प्रदेशले एनआरएनएलाई पाँच विकेटले पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ।

सुर्खेतको वीरेन्द्रनगरस्थित कालुञ्चोक मैदानमा शनिबार भएको लिग चरणको खेलमा टस जितेर फिल्डिङ रोजेको गण्डकीले यो जितसँगै दुई अङ्क जोडेको हो।

गण्डकीले एनआरएनएलाई १९ दशमलव २ ओभरमा सबै विकेट गुमाएर १२५ रनमा समेटेको थियो। एनआरएनएका लागि पवन खरेलले सर्वाधिक ३२ रन बनाए। उनले ३२ बलमा पाँच चौका प्रहार गरे। 

नवीन तामाङले २३ बलमा २६ र आदित्य महताले १४ बलमा २३ रन जोडे। कप्तान कमलसिंह ऐरी सात रनमा आउट भए भने विकेटकिपर निर्भिक पाठक पाँच रनमा अविजित रहे।

जवाफमा १२६ रनको लक्ष्य पछ्याएको गण्डकीले १४ दशमलव ३ ओभरमा पाँच विकेट गुमाएर लक्ष्य पूरा गर्यो।

गण्डकीका ईश्वर क्षेत्रीले २७ बलमा दुई चौका र तीन छक्कासहित ३२ रन बनाए। वंश क्षेत्रीले अविजित २९ रन जोड्ने क्रममा २७ बलमा तीन चौका प्रहार गरे। त्यस्तै, सिब्रिन श्रेष्ठले १३ बलमा २४ र सन्दीप खत्री क्षेत्रीले नौ बलमा १४ रन बनाए। रोहित चन्द एक रनमा अविजित रहे।

यसअघि गण्डकी समूह चरणको पहिलो खेलमा मधेस प्रदेशसँग सात विकेटले पराजित भएको थियो।

मंसिर १२, २०८३ शनिबार १४:२२:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।